DM Chamling Ra
लफ्याङ गाविस-३, मोहोरियाकी २६ वर्षीय मिश्रा परियारलाई शारीरिक तथा मानसिक यातना दिएर कुटपिट गर्ने पति ३६ वर्षीय केशव परियारलाई कानुनी कारबाहीको माग गर्दै पीडितले माघ १ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् ।
सामाजिक परम्परा अनुसार ०५९ सालमा विवाह गरेपश्चात जन्मिएको पाँच जना नाबालक छोराछोरी र आफूलाई आरोपित पतिले बारम्बार कुटपिट गर्दै आएकोमा पछिल्लो समय पुस ३० गते बिना कारण संवेदनशिल अङ्गमा कुटपिट गरी मरणासन्न बनाएपछि उजुरी दिनुपरेको पीडितले बताईन् ।
पतिले कुटपिट गरेर माघे संक्रान्ति चाड मनाउनसमेत नदिएको पीडितको भनाई छ । पतिले आफू र नाबालक छोराछोरीलाई खानलाउन समेत नदिई दिनहुँ शारीरिक र मानसिक रुपमा यातना दिँदै आएको पीडितको भनाई छ ।
चाडवाडको समय पतिले कुटपिट गरी घर निकाला गरेपछि आफू छिमेकीकोमा आश्रय लिएर बसेको उनले बताईन् । पीडितका ९ वर्षीय, ७ वर्षीय, ५ वर्षीय र ३ वर्षीय चार जना छोरी र १ वर्षीय एक छोरा छन् । पीडितको उजुरीको आधारमा घरेलु हिंसा गर्ने आरोपितलाई झिकाएर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । डिएम चाम्लिङ राई