Incident Reports

प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि ‘इलेक्ट्रिक ट्रन्चन’को यातना

2020-05-11

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर धार्मिक स्थल मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि यातना दिने गरेको पाइएको छ ।  हिले लिपुलेकमा भारतले सडक निर्माण गरेपछि काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । दैनिकजसो विरोध सभा भइरहेका छन् ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)  को आह्वानमा गत सोमबार नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि पनि यातना दिएको पाइएको छ । 

कोटेश्वर बहुमुखी क्याम्पस इकाईले जडिबुटी क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीमध्ये १७ जनालाई प्रहरीले नेपाल पुलिस क्लब ल्याउने क्रममा भ्यानभित्र ‘इलेक्ट्रिक ट्रन्चन’ ले यातना दिएको पीडितहरुले बताएका छन् ।  

“केन्द्रीय कार्यसमितिको आह्वानमा हामीले जडिबुटी पुलपारीबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थियौँ । प्रहरीसँग पनि शान्तिपूर्ण रुपमा सामाजिक दूरी कायम गरेर कार्यक्रम गर्छौँ भनेका थियौँ,” क्याम्पस इकाईका पूर्वअध्यक्ष बुद्ध पन्थीले भने, “रोडमा निस्केको २–३ मिनेटमै हामीलाई समातेर भ्यानमा हाल्यो । भ्यानबाटै हामीले नाराबाजी गर्न थालेपछि हामीहरुलाई प्रहरीले ‘करेन्ट’ लगायो ।”  

उनका अनुसार प्रहरीले क्याम्पस इकाईका उपाध्यक्ष सञ्जय बुढाथोकीले लगाएको टि–शर्ट उचालेर पेटमै ‘इलेक्ट्रिक ट्रन्चन’ लगाएको थियो । सोमबार राति ८ बजे पुलिस क्लबबाट रिहा भएपछि नेविसंघका अध्यक्ष राजीव ढुंगानाले नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको प्रतिक्रिया दिएका थिए ।  

यस्तै पुलिस क्लव पुगेका कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रहरीले नेविसंघका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि यातना दिएको भन्दै आपत्ति जनाएका थिए ।  

“देश, देशको अखण्डताको बारेमा यो सरकारले बेवास्ता गरेको छ । उदासिन भएको छ । त्यस विषयमा विद्यार्थीहरुले बोल्दा, विरोध गर्दा उल्टो विद्यार्थीहरुलाई पक्रेर पुलिसको भ्यानमा राखिसकेपछि पनि कुटपिटमात्रै होइन करेन्ट लगाइएको छ,” उनले भनेका थिए, “उनीहरु (प्रहरी) को ब्याट्रीसहितको करेन्ट लगाउने हुँदो रहेछ, थुनिसकेपछि पनि त्यो करेन्ट लगाइएको छ ।” 

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखिसकेपछिको अवस्थामा करेन्ट लगाएर अत्यन्तै अमानवीय कार्य गरेको सहमहामन्त्री डा. महतको भनाइ थियो ।  

“यो अमानवीय कार्य अत्यन्तै दुर्भाग्यपूर्ण हो । म भत्र्सना गर्छु । हरेक नागरिकको देशको बारेमा, जनताको बारेमा बोल्ने अधिकार छ । र, हामी बोलिराख्छौं,” महतले भनेका थिए ।  

गत सोमबार नेपाली भूमि अतिक्रमणको विरोधमा नेविसंघले गरेको प्रदर्शनका क्रममा प्रहरीले एक सयभन्दा बढी नेता–कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पुलिस क्लवमा राखेर राति ८ बजे रिहा गरेको थियो ।  

तर प्रहरीले नियन्त्रणमा लिइसकेपछि ‘इलेक्ट्रिक ट्रञ्चन’ नदिइएको दाबी गरेको छ । 

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले ‘इलेक्ट्रिक ट्रञ्चन’ गैरकानुनी नभएको दाबी गर्दै भीड नियन्त्रणका लागि प्रयोग गरिएको बताए । उनले गाडीमा राखिसकेपछि पनि पक्राउ परेका व्यक्तिले उदण्डता देखाएमा यसको प्रयोग गर्न सकिने बताए । 

“प्रहरीले भीड नियन्त्रण गर्नका लागि गरेको हो,” उनले भने, “यसमा प्रहरीलाई कारवाही गर्ने कुरा हुँदैन ।” 

के हो इलेक्ट्रिक ट्रन्चन ? 

इलेक्ट्रिक ट्रन्चन भीड नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने गर्दछ । नेपाल प्रहरीसँग यो पर्याप्त मात्रामा नभए पनि केही स्थानमा भने यो छ ।  

काठमाडौंमा नगर प्रहरीलगायतको टोलीले यसको प्रयोग गर्दै आएको छ । यसमा ब्याट्री हुन्छ । भीड नियन्त्रणका क्रममा कोही भाग्न खोजे ‘इलेक्ट्रिक ट्रन्चन’ले शरीरमा लुगा नभएको स्थानमा यसलाई लगाइन्छ । 

यसलाई नाङ्गो शरीरमा छुवाउँदा करेन्टजस्तै झड्का दिन्छ । तर, यसमा करेन्ट भने प्रवाह हुँदैन । लुगा नभएको भागमा यो लागेमा छाला कोरिनसक्छ । प्रहरीले नियन्त्रणमा लिइसकेपछि वा गाडीमा हालिसकेपछि भने यसको प्रयोग गर्न मिल्दैन ।  

‘इलेक्ट्रिक ट्रन्चन’ले बिजुलीबाट चार्ज गर्न मिल्छ । यसले ०.५ भोल्टेजको झड्का दिन्छ । ‘इलेक्ट्रिक ट्रन्चन’मा साइरनसमेत प्रयोग गर्न सकिन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 17
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments