Incident Reports

पत्रकारमाथि कुटपिट भएको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण l

2014-02-23

Lumbini, Banke, Nepalgunj

Binod Pandey लोकप्रिय सन्देश दैनिकमा कार्यरत पत्रकार २९ वर्षीय दिनेश ठाकुरलाई कुटपिट गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ बाँके शाखाले फागुन ११ गते विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकप्रिय सन्देश दैनिक पत्रिकाको कार्यलयबाट काम सकेर भवानियापुर गाविस-३ स्थित बालेगाउँमा फर्कने क्रममा फागुन ९ गते राति भवानीयापुर गाविस-१ बालेगाउँका स्थानीयवासी ३५ वर्षीय कल्लु तेली लगायतका व्यक्तिले कुटपिट गर्नुका साथै साइकल, पत्रिकाको क्यामरा समेत लुटपाट गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । राति ११ बजे साइकलमा घरतर्फजाँदै गरेको अवस्थामा चोरचोर भन्दै गाउँले कुटेको पीडितले बताए । कुटपिटबाट अनुहार र खुट्टामा चोट लागेका पत्रकार ठाकुरको स्थानीय मेडिकलमा उपचार भएको थियो । विज्ञप्तिमा पत्रिकाको काम सकेर फर्कने क्रममा तेली लगायतको समूहले पत्रकार ठाकुरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको उल्लेख गरिएको छ । पत्रकारलाई कुटपिट गर्ने र झुठा मुद्दा लगाउने कार्य निन्दनीय भएको भन्दै कुटपिट गर्ने कल्लु तेली लगायतलाई गिरफ्तार गरी कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउन, घाइते पत्रकार ठाकुरको औषधी उपचारको व्यवस्था गर्न र लुटिएका सञ्चार सामाग्री समेत फिर्ता गराउन स्थानीय प्रहरी प्रशासनसँग महासङ्घले आग्रह गरेको छ । कुटपिट र लुटापटमा परेका पत्रकारलाई न्याय दिलाउने सवालमा पत्रकार महासङ्घ बाँके शाखा चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी समेत महासङ्घले दिएको छ । घाइते ठाकुरले घाँउ जाँचका लागि जिल्ला प्रहरी कार्यालयमा फागुन ११ गते निवेदन दिएका छन् । आरोपितहरुलाई अनुसन्धानका लागि गिरफ्तार गर्न प्रहरी टोली घटनास्थल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis