Incident Reports

इनार छोएको आरोपमा दलितहरू माथि कुटपिट l

2014-02-25

Madhes, Siraha, Golbazar

Durga Pariyar चन्द्रोउदयपुर गाविस-६ मा सोही ठाउँका दलितहरूलाई इनार छोएको आरोपमा गैरदलितहरूले फागुन १२ गते कुटपिट गरेका छन् । बिहान इनारमा पानी भर्न गएको दलितहरूलाई पहिला पानी भर्न आफूहरूलाई दिनुपर्ने भनेर गैरदलितहरूले हप्काएपछि दलितहरूले सँगै पानी भर्ने भनेपछि दुवै पक्षबीच विवाद भएको थियो । सोही विषयलाई लिएर दलितहरूमाथि घर-घरमा आएर विजय लामा, अशोक मगर, अरुण लामा, भुषण लामा, पूर्णी लामा, साने लामा, श्रद्धा लामा, अजय लामालगायतका २० जनाको समूहले आफूहरूलाई कुटपिट गरेको पीडित ४० वर्षीया सुमारी देवी सदायले बताइन । उनका अनुसार पटक-पटक गैर दलितहरूले छुवाछुतको आरोप लगाउने र कुटपिट गर्ने गरेका छन् । गैरदलितहरूको आक्रमणमा महिला तथा अपाङ्गहरूसहित दर्जन बढी घाइते भएका छन् । घाइते हुनेहरूमा ४० वर्षीया सुमारीदेवी सदाय, ३५ वर्षीया पंचीदेवी सदाय, ३४ वर्षीया सोनादेवी सदाय, ३२ वर्षीया घोपा सदा, २८ वर्षीया जहरी सदा, १८ वर्षीय सञ्जील सदा, २५ वर्षीय शान्ति सदा, २६ वर्षीया सोमनी सदा, ३५ वर्षीय बिष्णु सदा, २५ वर्षीया नेपी सदा र २८ वर्षीया श्यामदेवी सदा घाइते भएको स्थानीयहरूले बताए । घरेलु हतियार लाठी तथा ढुङ्गाहरूले आक्रमण गरेको पीडितहरूले बताए । घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भएको थियो । घटनाको जानकारी स्थानीयहरूले इलाकाप्रहरी कार्यालय मिर्चैयामा सोहीदिन गराएका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुबेदीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । पीडितहरूले उजुरी हालेको आधारमा कानुनी कारबाही प्रकृया अगाडि बढाउने बताए । घटनाको अनुगमनगर्न स्थानीय अधिकारकर्मीहरूको टोलीहरू गएको थियो । टोलीमा मानवअधिकार संरक्षण केन्द्र सञ्जालका संयोजक नथुनी मण्डल, दलित जनकल्यान युवा क्ल्बका कार्यकारी निर्देशक बिनोद बिसुन्के र जिल्ला भूमिअधिकार मञ्चका राजकुमार पासवान गएका थिए । दलित अधिकारकर्मी बिनोद बिसुन्केका अनुसार घटनालाई मेलमिलापको माध्यमबाट नभएर छुवाछूत कसुर तथा सजाय ऐन २०६८ अनुसार कारबाही गर्नुपर्ने र पीडितहरूलाई उपचार खर्च र क्षतिपूर्ति दिनुपर्ने बताए । मानवअधिकार सञ्जालद्वारा विरोध यसैबीच सो घटनाको मानवअधिकार संरक्षण केन्द्र सञ्जालले फागुन १४ गते प्रेश विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको छ । विज्ञप्तिमा इनार छोएको निहुँमा सिरहाको चन्द्रउदयपुर-६ को धोवियाधारका सदायहरूमाथि फागुन १२ गते विहान निर्घात कुटपीट भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ । राज्यले छुवाछूतलाई कानुनी रुपमा अपराध भनी जातीय छुवाछूत तथा विभेद विरुद्ध (कसुर र सजाय ) ऐन, बनाए पनि यस्ता घटनाहरू भइ रहनु राज्यको लागि समेत लज्जाजनक अवस्था भएको विज्ञप्तिमा जनाइएको छ । जातीय छुवाछूतका घटनाहरूमा राज्यद्वारा कानुन विपरित मेलमिलाप गराउने परिपाटीले समेत यस्ता घटनाहरू दोहरिनुमा सहयोग पुर्‍याएको कुरा हामी मानवअधिकारकर्मीहरूको ठहर गरेका छौँ भन्दै विज्ञप्तिमा घटनाका आरोपितहरूलाई कानुन अनुसार कारबाही र कुटपिटबाट घाइते भएकाहरूलाई यथाशीघ्र उपचारकोलागि समेत जोडदार माग गरिएको छ । विज्ञप्ति प्रकाशित गर्नेहरूमा मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहा, सहयोगी हातहरू लहान, दलित जनकल्याण युवा कल्ब लहान, समग्र जनउत्थान केन्द्र लहान, ओरेक नेपाल सिरहा, इह्रिकन सिरहा, मानवअधिकार एलाइन्स सिरहा, जागरण मिडिया सेन्टर काठमाडौँ लगायतका संस्थाहरू रहेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis