Incident Reports

अंश विवादमा महिलाको हत्या l

2014-03-15

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokhrel त्रिकोल गाविस-५ निवासी जनतान्त्रिक तराई मधेस मुक्ति टार्इगर्सका जिल्ला सदस्य एवम् संविधानसभा सदस्यको समानुपातिक उम्मेदवार ३९ वर्षीया निर्मला साहको ०७० चैत १ गते राति हत्या भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर दीपक कार्कीका अनुसार घटनास्थलमा मृतकको हातका चुराहरू फुटेको र सङ्घर्ष भएको देखिएकोले कर्तव्य गरी हत्या भएको प्रष्ट छ । मृतकको पेटमा धारिलो हतियारले काटिएको, घाँटी भाँचिएको, छाति र हातमा चोट लागेकोले हत्या नै भएको टार्इगर्सका केन्द्रीय सचिव अनिल झाले दावी गरे । लाशको राजविराज नपा-३ स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चैत २ गते पोष्टमार्टम भएको छ । एकल महिला समूहकी सदस्य रहेकी पीडितले आफ्नो ज्यान जोखिममा रहेको भनेर पटक-पटक भनेको र प्रहरी, प्रशासनमा शान्ति सुरक्षाका लागि निवेदन समेत गरेको एकल महिला समूह सप्तरीकी अध्यक्ष अनिता देवकोटाले बताइन् । ज्यानमाथि खतराको आशंका भएर नै पीडितले तीनैजना छोरीहरूको सानो उमेरमा विवाह गरी दिएको र छोरालाई घरबाहिर राख्ने गरेको पीडितले बैठकहरूमा बताउने गरेको देवकोटाले बताइन् । पीडितले जेठाजुहरू ६० वर्षीय विन्देश्वर साह, ५० वर्षीय कपलेश्वर साह, जेठानीहरू ५५ वर्षीया मोहरी देवी, ४५ वर्षीया चुन्नी भनिने रीतादेवी, विन्देश्वरका छोराहरू ३५ वर्षीय ध्रुव, ३२ वर्षीय दीलिप भनिने अशोक, २९ वर्षीय सन्तोष र कपलेश्वरका छोरा २४ वर्षीय प्रमोद साहविरुद्ध ०७० वैशाख ९ गते दर्ता गरेको अंश मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मृतकका जेठाजु विन्देश्वर र निजका छोरा ध्रुव साहलाई चैत २ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखेको इन्स्पेक्टर कार्कीले बताए । मृतकका पति जयनारायण साहको ०६७ जेठ १ गते मृत्यु भएको थियो । बुवाको मृत्यु पनि रहस्यमय ढङ्गले भएको मृतकका छोरा १८ वर्षीय दीपक साहले बताए । मृतककी तीन छोरी र एक छोरा छन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis