Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गरेपछि आमाछोरी विस्थापित l

2014-03-17

Madhes, Sarlahi, Haripur

Bidur Kumar Pyakurel बोक्सीको आरोपमा गाउँलेले लछारपछार गर्दै दुर्व्यवहार गरेपछि हरिपुर गाविस-६ चिताईन की ४५ वर्षीया लक्ष्मी देवी धामी र उनकी छोरी २० वर्षीया मन्जु धामी चैत ४ गतेदेखि विस्थापित भई जिल्ला सदरमुकाम मलंगवामा आएका छन् । स्थानीय उदयनारायण धामीकी पत्नी २७ वर्षीया मन्तोरीयादेवी धामी बिरामी परेर झारफुक गर्दा मृत्यु भएपछि लक्ष्मीदेवी र मन्जु धामीलाई चैत ३ गते राती गाउँले बोक्सी लगाएको आरोप लगाई हातपात गरी दुर्व्यवहार गरेका थिए । बोक्सी मन्त्रबाट मान्छे मारेको भन्दै आफन्त सहितका गाउँलेले लक्षारपक्षार गर्दै दुर्व्यवहार गरेपछि उनीहरू विस्थापित भएका हुन् । स्वयम् देवरले नै घरबाट लछार्दै बाहिर निकालेको पीडित लक्ष्मी देवीले बताइन् । उनकी कान्छी देउरानी मन्तोरियादेवीको चैत २ गते राती निधन भएपछि त्यसको दोष उनीहरूमाथि लगाइएको हो । देवरले बोक्सी लगाएर मारिस् अब बचाउनु भन्दै दुर्व्यवहार गरेको पीडितको आरोप छ । मन्तोरियालाई माइती गाउँ जब्दीमा धामीझाक्री लगाएर झरफुक गरे पनि ठीक नभएपछि बोक्सी मन्त्रले मृत्यु भएको भन्दै उनको लाससहित लिएर लक्ष्मीदेवीको घरमा देवर उदय सहितका गाउँलेले लछारपछार पारेका थिए । कान्छा भाइसँग जमीनको बारेमा सामान्य विवाद भएकोले त्यही रिसमा पत्नीमाथि दुर्व्यवहार भएको पीडितका पति गोकुलप्रसाद धामीले बताए । ईटाभट्टामा मजदुरी गर्न गएका गोकुल बोक्सी आरोपमा पत्नीलाई कुटपिट भएको थाहा पाएपछि राती नै घर आएका थिए । पीडित पक्षले हालसम्म कही उजुरी गरेका छैनन् । प्रहरीले गलत आरोप लगाई महिलामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गरिने जनायो ।

0 Comments

Related Reports
Related Trend Analysis