Incident Reports

२५ सयको लोभमा छिमेकीले गरे हत्या

2020-06-17

Province 1, Sunsari, Gadhi, Ward 6

भण्टाबारी/ श्रीमान् श्रीमतीबीच झै–झगडा हुनु सामान्य कुरा मानिन्छ । तर, कतिपय अवस्थामा त्यही सामान्य विवादले उग्र रूप लिई एक–अर्काको ज्यान लिने अवस्था सिर्जना हुने गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडानम्बर ७ सिनुवारी बस्ने २५ वर्षीय मिथुन उराँव र उनकी पत्नी प्रमिला उराँवबीच घरायसी सानोतिनो कुराले विवाद हुन्थ्यो । समय बित्दै जाँदा उनीहरूबीच मतभिन्नता यहाँसम्म पुग्यो कि श्रीमती प्रमिलाका बाबुआमाले ज्वाइँ मार्ने योजना बनाए ।

प्रमिलाले आमा छवनीदेवी उराँव र बाबु रामदेव उराँवको योजनाअनुसार असार ३ गते बिहान ११ बजे श्रीमान् मिथुनलाई माइती ल्याइन् । ज्वाइँ र छोरीबीच बेलाबखत हुने झै–झगडाले सम्बन्ध बिग्रेका कारण प्रमिलाका माइतीपक्ष रुष्ट थिए । त्यसैले ज्वाइँलाई मार्ने निष्कर्षमा पुगेका थिए छवनीदेवी र रामदेव । त्यसमा साथ दिइन् मिथुनकी श्रीमती प्रमिलाले । 

योजनाअनुसार नै प्रमिलाले श्रीमान् मिथुनलाई असार ३ गते माइती पु¥याइन् र आफू त्यही दिन राति ९ बजे घर फर्केकी थिइन् । पूर्वयोजनाअनुसार सासू ससुराले ज्वाइँ मिथुनलाई रक्सी सेवन गराई मताएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले मिथुनलाई राति ११ बजेसम्म रक्सी सेवन गराई मताएको र त्यसपछि छिमेकीहरू अजयकुमार उराँव र अरबिनकुमार उराँवलाई समेत घरमा बोलाई रक्सी खुवाएको सुनसरी प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । 

ज्वाइँ मिथुन र छिमेकीहरू अजय र अरबिनलाई रक्सी खुवाई छवनीदेवी र रामदेवले ज्वाइँलाई मारेबापत दुवैलाई २५ सयका दरले दिने कबुल गरी मिथुनको हत्या गराएको अनुसन्धानबाट खुलेको छ । मिथुनका सासू ससुराले छिमेकीहरूलाई रक्सी खुवाएर मताउँदै २५ सयका दरले रुपैयाँ दिने प्रलोभनमा पारी आफ्नै ज्वाइँको हत्या गराएको सुनसरी प्रहरीको निष्कर्ष छ । 

मिथुनको शव सुनसरीको गढी गाउँपालिका–६ बूढीखोला पूर्व किनारमा माटोले पुरिएको अवस्थामा असार ६ गते बेवारिसे अवस्थामा फेला परेपछि सुनसरी प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उनकै श्रीमती र सासू ससुराले हत्या योजना बनाएको खुलेको हो । 

गढी गापा वडा नं. ६ बूढीखोला किनारमा माटोले पुरिएको अवस्थामा फेला परेको पुरुषको शवको बारेमा अनुसन्धान गर्दा ससुराली आएका उराँवलाई सासू ससुराले २५ सय रुपैयाँको प्रलोभन देखाएर छिमेकीहरूद्वारा हत्या गराएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए । 

घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान पठाइएको छ । असार १० गते सुनसरीको देवानगञ्ज गापा वडा नं. ७ का जगदीश उराँवले आफ्नो छोरा २५ वर्षीय मिथुन उराँव हराएको हुँदा खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा फोटोसहित निवेदन दिएपछि सो शव मिथुनकै भएको पुष्टि भएको थियो । 

मृतकको बुबा जगदीश उराँवले दिएको निवेदनमा आफ्नो छोरा मिथुनको ससुराली गढी गापा–६ हो र रामदेव उराँव ससुरा हुन् भन्ने उल्लेख छ । निवेदनमा जगदीशले आफ्नो छोरा ससुराली गएको हुन सक्ने भनी जनाएको हुँदा रहस्य खोज्दै जाँदा हत्याको रहस्य खुलेको एसपी थापा बताउँछन् । 

मिथुनका ससुरा रामदेव उराँव, सासू छवनीदेवी उराँव, श्रीमती प्रमिला उराँवसमेतलाई असार २४ गते नियन्त्रणमा लिएको र उनीहरूको बयानको आधारमा असार २५ गते बिहान अरविन उराँव र अजय उराँवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मृतककी सासू छवनीदेवीले दिउँसो ४ बजेतिर आफ्नो ज्वाइँले छोरीलाई धेरै कुटपिट गर्ने गरेको, दुःख दिने गरेकोले यसलाई मार्नुपर्छ भनी सोही ठाउँका ३५ वर्षीय अरविनकुमार उराँवसँग सल्लाह गरेको, सोही दिन मृतककी श्रीमती र मृतककी सासू छवनीदेवीबीच पनि मार्ने सल्लाह भई मृतककी श्रीमती प्रमिलाले श्रीमान्लाई माइतीघरमै छोडी आफू ९ बजेतिर देवानगञ्ज–७ स्थित घरमा फर्किएको खुलेको छ । 

साँझ ससुरा रामदेव र सासू छवनीदेवीले ज्वाइँ मिथुनलाई घरेलु रक्सी खुवाई मताएको र ज्वाइँ मातेपछि योजनाअनुसार राति ११ बजेतिर छिमेकी अजयकुमार र अरविनकुमारलाई छवनीदेवीले बोलाई घरमा ल्याएर उनीहरूलाई पनि घरेलु रक्सी खुवाएकी थिइन् । रक्सी खाइसकेपछि राति १२ बजेतिर अजयकुमार र अरविनकुमारलाई छवनीदेवी र रामदेवले आफ्नो आँगनमा रहेको कल छेउमा लगी ‘यस (मिथुन)लाई घर पु¥याउने भनी लगेर बाटामा मार्नू, तिमीहरूलाई पछि जनही २५ सय दिन्छु’ भनी हत्या गर्न अह्राएको स्वीकारेको प्रहरीको भनाइ छ । 

अजय र अरविनले गोजीमा प्लाष्टिकको डोरी बोकेर मृतक मिथुनलाई बूढीखोलाको पुलमाथि लगेका थिए । पुलको दक्षिणतर्फ मिथुनलाई बसाई अजयले खुट्टा समातेको र अरविनले घाँटीमा डोरीले कसेर मारेको प्रहरीले जनाएको छ । मरेपछि पुलबाट दुवैले मृतक मिथुनलाई बोकेर बूढीखोलाको पूर्वी किनारमा लगी खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports