Incident Reports

गाउँपालिकाका अध्यक्षद्वारा वृद्धमाथि दुर्व्यवहार

2020-07-26

बझाङ — मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले एक जना वृद्धलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा अध्यक्ष कठायतले सोही गाउँपालिकाको नौरा गाउँका ७७ वर्षीय पिरु रोकायालाई गाली गलौज गर्दै हातपात गर्न खोजेको देखिन्छ ।

तीन मिनेट २० सेकेन्डको उक्त भिडियोमा निकै आक्रोशमा देखिएका अध्यक्ष कठायतले ती वृद्धलाई धम्की समेत दिएका छन् । अध्यक्ष कठायतले पटकपटक आफू गाउँपालिकाको अध्यक्ष भएको भन्दै वृद्धलाई अपशब्द प्रयोग गरेको भिडियोमा देखिन्छ । शनिबार साँझबाट सामाजिक सञ्जालमा भाइरल हुन थालेको उक्त भिडियोमा भएको घटना साउन ११ गतेको भएको वृद्ध पिरु रोकायाले कान्तिपुरलाई बताएका छन् । ‘हामी तीनचार जना बुढाबुढी अध्यक्षकै गाउँ नजिकैको सार्वजनिक ठाउँमा बसेर गफ गर्दै थियौं । एक्कासी ऊ रक्सीले मात्तिएर आयो,’ रोकायाले भने, ‘उसले सोझै मेरो नाम लिएर देउपाटो भन्ने ठाउँको जग्गा तेरो बाउको हो भन्दै गाली गर्न थाल्यो । मैले मेरो बाउको नभए तेरो बाउको हो ? मात्र के भनेको थिए । गाली गर्दै झम्टिन आयो । त्यही भएका अन्य युवाले नरोकेको भए मलाई कुट्ने थियो ।’

उनले अध्यक्ष कठायतले देउपाटा भन्ने ठाउँमा आफ्नो बाजेको पालादेखि दर्ता रहेको जग्गाको विषयलाई निहुँ बनाएर आफूलाई कुट्न खोजेको बताए । केही महिनाअघि आफ्नो गाउँ नौरामा गाउँ नै जोखिममा पार्ने गरी गाउँपालिकाले निर्माण गर्न लागेको सडकको आफूले विरोध गरेको र सोही रिसले अध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप रोकायाको छ । यता गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले भने तत्कालीन मुखिया समेत रहेका रोकायाले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको र त्यहाँ खेलकुद मैदान निर्माण गर्ने काममा अवरोध गरेकाले आफूले आक्रोशमा आएर वृद्धसँग झगडा गरेको बताए । उनले भने, ‘सार्वजनिक जग्गा कब्जा गरेर विकास निर्माणको कामलाई अवरोध गरेकाले गाली गरेको हुँ । मबाट कुनै गल्ती भएको भए माफी माग्न तयार छु ।’ यसैबीच सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोलाई लक्षित गर्दै अध्यक्ष कठायत, नेकपा र अहिलेका जनप्रतिनिधिहरु प्रति आक्रोशपूर्ण टिप्पणीहरु आउन थालेपछि नेकपा बझाङले यस विषयमा विज्ञप्ती जारी गरेको छ । नेकपा जिल्ला कमिटी बझाङका अध्यक्ष मिनबहादुर कुँवर र सचिव दमन भण्डारीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष कठायतलाई यस विषयमा ७ दिनभित्र पार्टीमा स्पष्टिकरण पेश गर्न भनिएको छ । भाइरल भिडियोले पार्टीको गम्भीर ध्यानार्कषण भएको भन्दै यसको बारेमा पार्टीले छानबिन गर्ने र भदौ ३ गते बस्ने सचिवालय बैठकले आवश्यक कारबाही गर्ने उल्लेख गरिएको छ । विज्ञप्तीमा भिडियोको विषयलाई लिएर थप घटना नघटाउन र थप अतिरञ्जित नगर्न पनि सार्वजनिक अपिल गरिएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १५:०७



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments