Incident Reports

परिवारका सदस्यद्वारा जलाइएकी महिलालाई थप उपचारका लागि काठमाडौँ पठाइयो l

2014-05-05

Lumbini, Banke, Narainapur, Ward 2

Binod Pandey बाँके । ०७१ वैशाख २२ गते परिवारका सदस्यद्वारा मट्टीतेल छर्केर जलाइएकी लक्ष्मणपुर गाविस-८ मियापुरवाकी २५ वर्षीया रिहाना सेख ढफालीलाई इन्सेक लगायत सङ्घ संस्थाको पहलमा उपचारका लागि वैशाख २२ गते काठमाडौँस्थित वीर हस्पिटल पठाइएको छ । इन्सेक, द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल, फातिमा फाउण्डेशन, साथी, बिभिएसको संयोजनमा पीडितलाई उपचारका लागि पठाइएको हो । पीडितको उपचारमा साथी र बिभिएस काठमाडौँले सहयोग गर्ने साथी संस्थाकी सरिता शर्माले बताइन् । पीडितलाई उपचारका लागि काठमाडौँ पुर्‍याउन महिला तथा बालबालिका कार्यालयले आर्थिक सहयोग गरेको छ । ०७० चैत ३ गते अगो लगाइ घाइते भएकी रिहनालाई घर परिवारले आफैले आगो लगाएको भन्नु भन्ने सर्तमा चैत ६ गते उपचारका लागि भारतको बहराइच पुर्‍याएका थिए । हिरमिनिया गाविस-८ अहिरपुरवा माइती घर भएकी रिहनाका बुवाले थाहा पाएपछि भेट्न बहराइच पुगे लगत्तै पीडितलाई घर परिवारले छाडेर गएको पीडितका बुवा मोहम्मद समिम सेख ढपालीले बताए । भारतबाट नेपाल ल्याएर पीडितलाई वैशाख ८ गते भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उपचारका लागि बाहिर लैजान भने पनि आर्थिक अवस्था कमजोर भएकाले लैजान नसकेको समिमले बताए । वैशाख २१ गते इन्सेक नेपालगञ्जमा पतिले आगो लगाइ घाइते बनाएकी छोरीको न्याय र उपचारमा आवश्यक सहयोग गरिपाँउ भनि समिमले निवेदन दिएपछि घटनाको खुलासा भएको थियो । समिमले प्रहरीमा उजुरी दिए पनि कुनै वास्ता नगरेको समेत जनाएका छन् । पतिले बेला बेलामा मोटर साइकल र भैँसी लगायत दाइजो नल्याएको भन्दै कुटपिट गर्ने गरेको, जलेको चुरोटले सम्बेदनशील अङ्गमा डाम्ने गरेको पीडितले बताइन् । पीडितले घटनाको दिन हात पछाडि बाँधी मट्टीतेल छर्केर आगो लगाएको बताइन् । 'आफैले आगो लगाएको भन्नु हामीले लगाएको भने जहरको सुई लगाइदिने भने ।' पीडितले भनिन् । पीडितको गर्भमा सात महिनाको बच्चा समेत रहेको अवस्थामा घटना भएको थियो । उनले वैशाख ११ गते भेरी अञ्चल अस्पतालमा मृत बच्चालाई जन्म दिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले वैशाख २२ गते पीडितको बयान लिन प्रहरीलाई निर्देशन दिएपछि प्रहरी अस्पतालमा पुगेर बयान लिएको छ । प्रजिअ वलीले घटनाका बारेमा छनबिन गरिने समेत बताए । इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले प्रहरीमा उजुरी दिइसकेपछि अनुसन्धान गर्ने जिम्मा प्रहरीको भएको बताउँदै घटना प्रति वास्ता नगर्नुले प्रहरी जिम्मेवारीबाट पन्छिन खोजेको बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis