काठमाडौं, अवैध सिकार गरी मारेको दुर्लभ वन्यजन्तु मृगसहित पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता तथा शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताले दबाब दिएका छन्। घटनालगत्तै स्थानीयको घेरामा परेको उक्त समूह २५ हजार रुपैयाँ दिएर उम्कन खोजे पनि सफल नभएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले फोन गरी वन कर्मचारीलाई दबाब दिएको स्रोतले दाबी गरेको छ। वन कार्यालय स्रोतका अनुसार कांग्रेस नेताहरुले घटना सामसुम पार्न कर्मचारीलाई दबाब दिएका छन्। वन कार्यालय धादिङका प्रमुख राजेन्द्र सिंह भण्डारी बिदामा भएका कारण निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कृष्णप्रसाद अधिकारी र अनुसन्धान अधिकृत तोकिएका विनोद कुमार रेग्मीलाई दबाब दिएको छ।
वन कार्यालयका कर्मचारीबीच मंगलबार दिनभर पत्याउनै नसकिने व्यक्तिबाट फोन आएको सन्दर्भले चर्चा पाएको थियो। बस्नेत कांग्रेसमा देउवा पक्षधर मानिन्छन्। अघिल्लो पटक पक्राउ पर्दा खुलेरै बस्नेतको बचाउमा लागेका रञ्जित कर्णले भने यसपटक उनको बचाउ नगर्ने बताए।