Incident Reports

प्रहरी हिरासतमा सर्वसाधरणलाई यातना l

2014-06-10

Province 1, Jhapa, Mechinagar

Arjun Basnet झापा । ०७१ जेठ २८ गते मेचीनगर नपा-१० स्थित स्थित ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका मेचीनगर नपा-१० का २६ वर्षीय लासाङ्ग लामालाई प्रहरीले यातना दिई घाइते बनाएको छ । लामालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले जेठ २७ गते बिहान गिरफ्तार गरी प्रहरी कार्यालयमा ल्याई यातना दिएका हो । इन्स्पेक्टर विजय श्रेष्ठ सहितको प्रहरी टोलीले लाठी, बुट र मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी शरीर भरि निलडाम हुने गरी कुटपिट गरेका थिए । लामाले आफूलाई काँकरभिट्टा स्थित कान्तिपुर गेष्ट हाउसबाट बिहान ८ बजे तिर बिना कारण गिरफ्तार गरेर प्रहरी भ्यानमा प्रहरी कार्यालयको गेटमा ल्याउने साथ प्रहरी जवान र इन्स्पेक्टर विजय श्रेष्ठले बुट तथा लाठीले कुटपिट गरेको र अपरान्ह जिल्ला प्रशासन कार्यालय झापामा लगि सार्वजनिक मुद्दा दर्ता गरी म्याद थप गरेको बताएका छन् । पीडितको दायाँ बायाँ काँध, अनुहार र शरीरका विभिन्न भागमा गहिरो र गम्भीर प्रकृतिको चोट लागेको छ । आज दिउँसो इन्सेक प्रतिनिधि र सञ्चारकर्मीहरूको टोली गई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका कामु प्रमुख इन्स्पेक्टर विजय श्रेष्ठलाई भेट गरी घटनाको विषयमा जानकारी लिएको थियो । प्रहरी कार्यालयमा ल्याई सोधपुछ गर्नेक्रममा आरोपिले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा लछारपछार हुँदा उनलाई चोटपटक लागेको भन्दै इन्स्पेक्टर श्रेष्ठले गैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए । १०-१५ जना प्रहरी रहेको समयमा आरोपिले प्रहरीमाथि नै आक्रमण गरेकोले प्रतिरक्षाको क्रममा उनी घाइते भएको इन्स्पेक्टर श्रेष्ठले बताएका थिए । पीडीत लामालाई प्रहरीले मनसाय पूर्वक गिरफ्तार गरी यातना दिएको स्थानीयवासी तथा सञ्चारकर्मी लक्ष्मी उप्रतीले बताए । पीडित लामाकी आमा विष्णु लामाले आफ्नो छोरालाई प्रहरीले बिना कारण यातना दिई गम्भीर घाइते बनाएकोले मानवअधिकारकर्मीहरूले सहयोग गनु पर्ने भन्दै इन्सेक प्रतिनिधिसँग सहयोगको याचना गरेकी थिइन् । इन्स्पेक्टर श्रेष्ठले पीडित लामासँग भेटघाटको क्रममा फोटो लिन र रेकर्ड गर्न नमिल्ने भन्दै फोटो लिन र रेकर्ड गर्नलाई रोक लगाएका थिए । अनुगमनको क्रममा टोलीले प्रहरीद्वारा लामालाई यातना दिएको निष्कर्ष निकालेको छ । तर, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्स्पेक्टर श्रेष्ठले ईलाका प्रहरी कार्यालयमा गिरफ्तार गरी लामालाई ल्याएपछि प्रहरीमाथि नै आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा उनी घाइते भएको जनाएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis