Incident Reports

अधिकारकर्मीको रोहबरमा क्याम्पस प्रमुख सहित छ जना नियन्त्रणमुक्तl

2014-06-15

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७१ असार २ गते नेपाल विद्यार्थी सङ्घले कार्यकक्षमै थुनेर तालाबन्दी गरिएका पोखरा उमनपा-१६ लामाचौरस्थित पश्चिमाञ्चल इञ्जिनियरिङ्ग अध्ययन संस्थानका क्याम्पस प्रमुख सहित ६ जना कर्मचारीलाई अधिकारकर्मीको रोहबरमा असार १ गते राति नियन्त्रण मुक्त गरिएको छ । नेवि सङ्घ आवद्ध विद्यार्थीलाई विना गल्ती कारबाहीको सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले पश्चिमाञ्चल इञ्जिनियरिङ्ग अध्ययन संस्थान लामाचौरका क्याम्पसप्रमुख नारायणप्रसाद गौतम, सहायक क्याम्पसप्रमुखहरू छविन्द्र थापा, नारद राई, कर्मचारीहरू पूण्यप्रसाद शर्मा, धनबहादुर थापा, हरिकला सुवेदीलाई कार्यकक्षमै थुनेर तालाबन्दी गरेका थिए । घटनाको बारेमा राष्ट्रिय मानवअधिकार आयोगका संरक्षण अधिकृत ज्योति घिमिरे, बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, इन्सेक पश्चिमाञ्च क्षेत्रीय कार्यालयका सहायक प्रलेख अधिकृत टंक खनाल, लेखापाल मधु पन्थी र मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमलप्रसाद अर्यालको रोहबरमा उनीहरूलाई नियन्त्रण मुक्त गरिएको हो । अधिकारकर्मीको टोलीले प्राध्यापक सङ्घ, क्याम्पस प्रमुख, सहायक क्याम्पसप्रमुख र नेपाल विद्यार्थी सङ्घ इकाई समितिसँग भेटघाट र छलफल गरी वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपछि असार २ गते दिउँसो वार्ता गर्न सहमत भई उनीहरूलाई नियन्त्रण मुक्त गरिएको नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इञ्जिनियरिङ्ग अध्ययन संस्थानका मुल इकाई सभापति पवनबाबु बास्तोलाले बताए । जेठ २१ गते छात्रा जिस्काएको विषयलाई लिएर शुरु भएको विवाद मिलाउन गठन भएको छानबिन समितिले निर्दोष विद्यार्थीलाई कारबाहीको सिफारिस गरेको भन्दै आक्रोशित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले असार १ गते मध्यान्न १२ बजेदेखि क्याम्पसप्रमुख सहित ६ जना कर्मचारीलाई कार्यकक्षमै थुनेर तालाबन्दी गरेका थिए । जेठ २१ गते केही छात्रहरूले छात्रालाई जिस्काएर दुर्व्यवहार गरेको भन्दै क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्राहरूले क्याम्पस प्रशासनमा उजुरी गरेपछि छात्रछात्राबीचको विवाद चर्किएको थियो । घटनाको छानबिन गर्न क्याम्पसका प्रशासनकीय अधिकृत गोपाल काफ्लेको संयोजकत्वमा पाँच सदस्यीय समिति जेठ २२ गते गठन गरिएको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis