Incident Reports

केन्द्र विवादमा मादी गाउँपालिका कार्यालयमा तालाबन्दी र तोडफोड

2021-02-03

Gandaki, Kaski, Madi, Ward 3

 २१ माघ, कास्की ।

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी-३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो ।

राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत पालिकाको केन्द्र सार्ने निर्णय गरिएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय काँग्रेस नेता एवं स्थानीयवासीको तर्फबाट गठन गरिएको सङ्घर्ष समितिका संयोजक नारायण गुरुङले बताए ।

गाउँसभाले केन्द्रका लागि चार विकल्प सिफारिस गर्ने सर्वसम्मत निर्णय गरे पनि गाउँपालिकाले एकलौटीरूपमा बेतेनीमा केन्द्र बनाउन सिफारिस गरेको गुरुङको दाबी छ । असन्तुष्ट पक्षको माग पालिकाको केन्द्र याङ्जाकोटमा नै रहनुपर्ने र सिफारिस प्रक्रियाप्रतिसमेत आपत्ति जनाएको छ ।

छैटौँ गाउँसभाले पालिकाको केन्द्र वडा नं ४ र ५ अन्तर्गत मादी करिडोर छेउपर्ने बेतेनी वडा नं ३ स्थित याङ्जाकोट देउराली, वडा नं ४ को तारकाङस्थित माजडी र साविक वडा नं ३ स्थित याङ्जाकोट गरी चार विकल्प तय गरेको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने भए पनि पूर्वजानकारीबिना एक्कासी तालाबन्दी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

गाउँसभाले केन्द्रका लागि चार विकल्पसहित सर्वसम्मत निर्णय गरेकामा पहिलो विकल्पमा प्रदेश सरकारले निर्णय गरेर सङ्घीय सरकारलाई पठाएको जानकारी प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘गाउँसभाको निर्णयबमोजिम चार विकल्पसहित हामीले प्रदेश सरकारलाई सिफारिस गरेका हौँ, पहिलो विकल्पमा प्रदेशले सिफारिस गरेको हो । केन्द्रबाट निर्णय भएर राजपत्रमा आएपछि उहाँहरूले प्रतिक्रिया जनाएको भए राम्रो हुन्थ्यो, एक्कासी ताला लगाउनु स्वाभाविक छैन, यसअघि कुनै पनि जानकारी आएको छैन ।’

स्थानीय शासन ऐनअनुसार पालिकाको केन्द्र परिर्वतनका लागि सर्वसमम्त निर्णय गर्नुपर्ने हुन्छ । सर्वसम्मत नभएको खण्डमा दुईतिहाइ बहुमतबाट समेत पारित गरेर प्रदेश र सङ्घ सरकारलाई सिफारिस गर्न सकिने प्रावधान छ ।

------------------------------------------------------

Update

केन्द्र सार्ने प्रस्ताव विरुद्ध मादीको कार्यालय तोडफोड

असन्तुष्ट पक्ष तालाबन्दी र तोडफोडमा उत्रियो

कास्कीको मादी गाउँपालिकाको केन्द्र साझा–बेतेनीमा सार्ने प्रस्तावपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । साविक याङ्जाकोटमा रहेको मादीको केन्द्र साझा–बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई एकवर्ष अघि नै अनुरोध गरेको थियो । तर, संघीय सरकारले निर्णय नलिएपछि प्रदेशले पनि संघीय सरकारलाईमा थप अनुरोध गरेपछि विवाद निस्केको हो ।

मादीको केन्द्र साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै आएका स्थानियले सो निर्णयबिरुद्ध मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । असन्तुष्ट समूहले लगाएको ताला गाउँपालिका प्रमुख बेदबहादुर गुरुङको निर्देशनमा बुधबार खोलिएपछि स्थानियले दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् । साथै उनीहरुले गाउँपालिका प्रमुख गुरुङ र प्रशासकीय अधिकृतको नेमप्लेट उप्काएर फालिदिएका छन् ।

कार्यालय खोलेर गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृतसहितका जनप्रतिनिधि तथा कर्मचारी भित्र बसिरहँदा बाहिर भएका असन्तुष्ट पक्षले कार्यालयको गेट तोडफोड गरेर ढलाएका छन् । त्यस्तै प्रशासकीय अधिकृत चढ्ने ग.३ च.३३५२ नम्बरको स्कार्पियो गाडीको शिशा फोडिएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिए ।

आन्दोलनको नेतृत्व गरेका संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेस वडा नम्बर ३ का अध्यक्ष नारायण गुरुङले षडयन्त्रपूर्वक केन्द्र सार्ने निर्णयपछि आक्रोशित स्थानियले तोडफोड गर्नु सामान्य भएको बताए । उनले आन्दोलन जारी रहने बताउँदै ताला फोडेर खोलिएको कार्यालयमा पुनः ताला लगाइएको बताए । प्रशासकीय अधिकृतलाई गाउँपालिका प्रमुखको कार्यकक्षमा पठाएर पुनः तालाबन्दी गरिएको उनले बताए । प्रशासनिक काम गर्न नदिने नीति अनुरुप प्रशासकीय भवनमा तालाबन्दी गरिएको उनले बताए ।

असन्तुष्ट पक्षले स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट साझा–बेतेनीमा सार्ने निर्णय गरेको आरोप लगाएको छ । मादी गाउँपालिकाको छैठौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख गुरुङले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा बेतेनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अपनाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक गुरुङले बताए ।

गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ । स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कि सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ ननभए दुईतिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा साझा बेतेनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत एकमतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघिको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।

तालाबन्दी गर्ने समुह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफुहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफुहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता गुरुङ बताउँछन् । ‘केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,’ उनले भने, ‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।

यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Severely damaged Buildings 1
National/Online Media

0 Comments