Incident Reports

उपचारका नाममा शिक्षकमाथि खनियो धामीझाँक्रीको समूह, छुट्याउन जाँदा आमालाई पनि आक्रमण

2021-02-17

Province 1, Morang, Kanepokhari, Ward 7

विराटनगर / झारफुकमार्फत उपचार गराइदिने नाममा मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि धामीझाँक्रीको एउटा समूहले निर्घात कुटपिट गरेको छ ।उक्त समूहको आक्रमणबाट घाइते भएका गुरुङ स्थानीय श्री पपुलर बोर्डिङ स्कुलका शिक्षक हुन् । दुई वर्षदेखि त्यहाँ पठनपाठन गराउँदै आएका उनले त्यसअघि १० वर्षसम्म गाउँकै सगरमाथा बोर्डिङ स्कुलमा शिक्षकका रुपमा काम गरेका थिए ।

धामीझाँक्रीको समूह खनिएर मरणासन्न हुने गरी आक्रमण गर्दा घाइते भएका भीमकाजीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि डिस्चार्ज पाएका उनी अहिले घरमै आराम गरिरहेका छन् ।तर उनी उठेर हिँडडुल र राम्ररी कुराकानी गर्न एवं खाना खान सक्ने अवस्थामा नरहेको दाजु रचनमान गुरुङले बताए । सात वर्षअघि उनलाई मानसिक समस्या देखा परेको थियो । परिवारले उपचारका लागि विराटनगर, काठमाडौं र भारतको सिलिगुडीका विभिन्न अस्पताल पुर्याए पनि रोगको पहिचान हुन सकिरहेको छैन ।

चिकित्सकको सल्लाहमा ६ वर्षदेखि नियमित औषधि सेवन गरिरहेका भीमकाजीलाई न बिसेक भएको छ, न त उनको उपचार नै सम्भव हुन सकिरहेको छ ।उनको उपचारमा परिवारले १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसक्यो । ‘छोरालाई उपचारका लागि धेरै अस्पताल लगियो । पैसा पनि खर्च भएकोभयै छ,’ ६३ वर्षीया वृद्धा आमा इन्द्रकुमारी गुरुङले भनिन्, ‘अहिलेसम्म छोराको रोग पत्ता नलाग्दा चिन्ता र तनावबाट ग्रसित भएर बाँच्नु परिरहेको छ । रोगको पहिचान भएमा उपचार पाएर छोरो निको हुन्थ्यो होलाभन्ने आश चैँ मरेको छैन ।’ इन्द्रकुमारीका अनुसार भीमकाजीलाई लट्ठ परेर एकोहोरो बन्ने र बेहोस हुने समस्या दोहोरिरहन्छ ।

उपचार ठीक नभएर तनावमा रहेका भीमकाजीले उपचार गराउन आउने सबै निको भएर जान्छन् भन्दै एक जना धामीझाँक्रीको काम गर्ने व्यक्तिका बारेमा सामाजिक सञ्जाल युट्यूबमा धेरै प्रचार गरिएको भेटे । लामो समयदेखिको स्वास्थ्य समस्याको समाधान भइहाल्छ किभन्ने झिनो आशमा उनले परिवारलाई त्यो कुरा सुनाए ।

छोराको उपचार हुन नसकेको पीडासँगै बुढेशकालमा थलिँदै गएकी इन्द्रकुमारीले फागुन ४ गते बिहान बेलबारी नगरपालिका–४ बुधबारेस्थित धामीको काम गर्दै आएका एक व्यक्तिको घरमा भीमकाजीलाई पुर्याइन । आमा–छोरा पुग्दा धामीकोमा झारफुक गर्न आएकाहरुको लाम थियो । टेन्ट टाँग्दै व्यवस्थित रुपमा थान (चिन्ता बस्ने ठाउँ) बनाएर धामीझाँक्रीको काम गर्दै आएका २५ वर्षीय कृष्ण घतानी चिन्ता बसेर ढ्याङ्ग्रो बजाउँदै काप्ने र उफ्रिने गरिरहेको उनीहरुले देखे ।

छेउछाउमा सात/आठ जना महिला तथा युवतीहरु पनि शरीरमा माता चढेकोभन्दै धामी जसरीनै उफ्रिदै र चिच्याउँदै थिए । धामीका सहयोगीहरु थाल र ढ्याङ्ग्रोबजाउन सहयोग गरिरहेका भेटिए । भीडभाड ठूलो थियो । आमालाई लिएर धामीकोमा पुगेका भीमकाजीको उपचार गराउने पालो फागुन १० गते मात्रै आउने भयो । पुनः १० गते फेरि आउँछौं भनेर आमा–छोरा घर फर्किए ।

तर बिरामले थपच्यापेपछि भोलिपल्ट (फागुन ५ गते) उज्यालो हुनसाथ भीमकाजी धामीको घर पुगे । धामीलाई समस्या सुनाइरहेका बेला पछ्याउँदै आमा पुगिन् । धामीसहित केहीमहिला र युवतीहरु ढ्याङ्ग्रो र थालबजाएर थानका अगाडि जोडतमासले उफ्रिदै त्यहाँ आएकाहरुलाई झरफुक गरिरहेका थिए ।

त्यत्तिकैमा थान अगाडि बसिरहेका बेला केही नबोलिकन एक्कासि एक युवाले अनुहारमा मुक्का प्रहार गरेपछि भीमकाजी भुइँमा ढले । उनलाई आमाले उठाउन खोजिन् । तर त्यो भिडले दिएन । त्यसपछि धामीसहित केही युवा र त्यहाँ उफ्रिरहेका महिला तथा युवतीले सामूहिक रुपमा भीमकाजीमाथि आक्रमण सुरु गर्न थाले । दर्दनाक हिसाबले सबै मिलेर आक्रमण र निर्घात कुटपिट गरिएको उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

धामीको काम गर्ने कृष्णले बारम्बार खुकुरीले भीमकाजीलाई प्रहार गर्न खोजेको र केही महिला तथा युवतीले भुइँमा लडाईलडाई बारम्बार छात्ती, ढाड लगायत शरीरका विभिन्न भागमा मुक्का र लात्ताले प्रहार गरेको भिडियोमा देख्न सकिन्छ । कुटपिटको दुखाई सहन नसकेर उनले बारम्बार आफूलाई मारिदिन आग्रह गरिरहेको भिडियो निक्कै दर्दनाक छ । सामूहिक आक्रमणको भिडियो अहिले युट्यूबमा भाइरल बनेको छ ।

गजा (ढ्याङ्ग्रोबजाउने लौरो), लात्ता र मुक्काले बारम्बार प्रहार गर्न थालेपछि आमा इन्द्रकुमारी आत्तिन् । आफ्नै आँखाअगाडि निर्घात ढंगले कुटपिट हुन थालेपछि सहन नसकेर इन्द्रकुमारी छोरालाई बचाउन गइन् । त्यो अराजक र उत्तेजक भीडले वृद्ध इन्द्रकुमारीमाथि पनि आक्रमण र कुटपिट गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट भीमकाजीको छात्ती, अनुहार, घाँटी, ढाड लगायत शरीरका विभिन्न भागमा घाउ र चोट लागेको छ । दाजु रचनमानका अनुसार कुटाइबाट थला परेकी आमा इन्द्रकुमारी ओछ्यानबाट उठ्न सकिरहेकी छैनन् । ‘सबै धुरिएर छोरालाई कुट्न थालेपछि माया लागेर बचाउन आमा जानु भएछ । तर ठूलो संख्यामा रहेका उनीहरुले छाडेनन् र वृद्ध अवस्थाकी आमालाई पनि धेरै कुटपिट गरेछन्,’ रचनमानले भने, ‘बिना गल्ती झारफुकका नाममा भाइ र वृद्ध आमामाथि मार्ने हिसाबले आक्रमण गरियो । धन्न बाँचेर फर्किएकाले जीवितै भेट्न सक्यौँ । यस्तो डरलाग्दो बिचित्रको र अचम्मको संवेदनहिन घटना अहिलेसम्म देखेकै थिइँन ।’

मरणासन्न हुने गरी आक्रमण गरेपछि आमालाई एक बोतल रक्सी र पाँच सय रुपैयाँ पैसा थानमा राख्न लगाउँदै धामीको खुट्टा ढोग्न लगाएर माफी पनि माग्न लगाएको रचनमानको भनाइ छ । ‘छोरालाई केहीनहोस् भनेर बचाउन पुग्नु भएकी आमालाई कुटपिटपछि बारम्बार माफीमाग्दै समाएर धामीको खुट्टा ढोग्न लगाएछन्,’ उनले भने, ‘भनेको अनुसार नभए मारिदिन्छौँ भन्दै सबै मिलेर आक्रमण गर्दै बाध्य पारेपछि छोरालाई केहीनहोस् भन्दै धामीको थानमा आमाले रक्सी र पैसा चढाउनु भएछ ।’

उनकाअनुसार देवताको थानमा गलत मनसायले आएको भन्दै भाइमाथि उनीहरुले आक्रमण सुरु गरेका हुन् । उनले पटकपटक मारिदिन्छौँ भन्दै अनेक हिसाबले यातना दिएर भाइलाई लडाईलडाई आक्रमण गरेको र आमालाई कुटपिट गरेको भिडियो आफूसँग पनि सुरक्षित रहेको बताए ।

पीडित परिवारको किटानी जाहेरीपछि प्रहरीले नियन्त्रणमा लिएर धामीझाँक्रीको काम गर्दै आएका कृष्णविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनामा सात/आठ जनाको संलग्नता रहे पनि तत्काल पहिचान खुलेका एक जनालाई मात्रै पक्राउ गरिएको र अरुको खोजी भइरहेको जानकारी दिए ।‘सामूहिक रुपमा आक्रमण गरेको भिडियो प्राप्त भएको छ । एक जनाको पहिचान खुलेकाले पक्राउ गरिएको हो,’ ढकालले भने, ‘कुटपिटमा संलग्न अरुको पहिचानगर्ने प्रयास भइरहेको छ । घटनामा संलग्न सबै जनालाई खोजी गरेर पक्राउ गर्दै कानुनअनुसार कारबाही अघि बढाइने छ ।’ ढकालले भिडियो हेर्दा कुनै पुरानो रिसईबीका कारण ज्यानै लिने हिसाबले सामूहिक रुपमा सांघातिक आक्रमण गरेको देखिने बताए । तर पीडित परिवारले भने घटनामा संलग्न कोहीसँग पनि चिनजान नरहेको जनाएको छ ।

ताप्लेजुङ घरभएका कृष्ण केही समयदेखि बेलबारीमा बसेर धामीझाँक्रीको काम गर्दै आएको खुलेको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार पैसा कमाउनका लागि उनले सामाजिक सञ्जाल युट्यूबको दुरुपयोग गरी जुनसुकै बिरामी पनि निको पारिदिने गलत प्रचार गरेर झारफुकका लागि आउनेहरुलाई यस्तै खालको यातना दिने र आक्रमण गर्ने काम बारम्बार गरिरहेको पाइएको छ । कृष्ण र उनको समूहबाट अरु पनि पीडित भएको हुनसक्ने भएकाले यस विषयमा थप सोधीखोजी तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘शिक्षकजत्तिको शिक्षितव् यक्तिले धामीले बिराम निको पार्छन् भन्दै झारफुक गर्न जानु पनि गलत हो । तर जतिउ पचार गर्दा पनि निको नभएपछि बा सुधार भइहाल्छ किभनेर गएको पाइयो,’ एक प्रहरीले भने, ‘भिडियो हेर्दा घटना निक्कै दर्दनाक देखिन्छ । यसले प्रविधिको दुरुपयोग गर्दै समाज नकारात्मक बाटोतर्फ उन्मुख भएको शंकेत पनि गर्छ ।’ प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कोही कसैले यस्तो गलत धन्दा चलाइरहेको भए तत्काल सूचना दिन वा सम्पर्कमा आउन पनि सबैमा अनुरोध गरेको छ ।

वडा अध्यक्ष राम राईले घटनामा संलग्न व्यक्ति बेलबारीका स्थायीबासिन्दा नभएको र केही समय अगाडि मात्रै गाउँमा आएर बसोबास गर्न थालेको बताए । घटना अन्धविश्वास र रुढीबादी परम्पराको परकाष्ट भएको बताउँदै उनले सबै दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिए ।

घटनाबाट पीडित बनेका भीमकाजीको भने बुवाको यसअघि नै निधन भइसकेको छ । उनको परिवारमा आमा, दाजुभाउजू, श्रीमती र छोराछोरी छन् । २०७१ सालमा बिहे गरेका उनको ५ वर्षका छोरा र ३ वर्षकी छोरी छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports