Incident Reports

खम्बुवान नेतालाई कैद र जरिवाना हुने फैसला l

2014-07-01

Province 1, Khotang, Kepilasagadhi

DM Chamling Rai खोटाङ । ०७१ असार १८ गते खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य विश्वास साम्पाङ खम्बूलाई जबर्जस्ती चन्दा असुलेको आरोपमा जिल्ला अदालतले असार १७ गते तीन महिना कैद र १ हजार रुपैया जरिवाना हुने फैसला सुनाएको छ । उनलाई प्रहरीले ०६९ असोज ५ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले चन्दा ऐन २०३० को दफा १३ बमोजिम सो फैसला गरेको जिल्ला अदालतका नायव सुब्बा चरेन्द्रप्रसाद आचार्यले बताए । उनी कारागार शाखा दिक्तेलमा थुनामा छन् । हतियारसहित बाक्सिला गाविसबाट गिरफ्तार गरिएका आरोपितलाई ०६९ असोज २६ गते जिल्ला अदालतले २० हजार धरौटी माग गरेकोमा बुझाउन नसक्दा सोही दिनदेखि पुर्पक्षका लागि कारागार शाखा दिक्तेल थुनामा थिए । खम्बूले सर्वसाधारणबाट जबर्जस्ती १५ हजार ७ सय रुपैयाँ चन्दा असुलेको ठहर भएको र सो रकम असुलउपर गर्ने अदालतले फैसला गरेको आचार्यको भनाइ छ । आरोपित खम्बूले जिल्लाका शिक्षक तथा व्यापारीहरूलाई धम्कीसहित चन्दा असुल्दै आएका थिए । उनी विरुद्ध हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलिरहेको छ । हातहतियारको मुद्दा भने विचाराधिन अवस्थामा छ । त्यस्तै जबर्जस्ती चन्दा असुलेको आरोपमा मुद्दा चलाइएका खम्बुवान राष्ट्रिय मोर्चाका बिचारी गिरीलाई भने अदालतले असार १७ गते सफाइ दिने फैसला सुनाएको छ । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis