Incident Reports

प्रहरी हस्तक्षेपको विरोधमा सामुदायिक विद्यालय बन्द l

2014-07-02

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadka दाङ । ०७१ असार १९ गते नेपाल राहत शिक्षक सङ्घर्ष समिति दाङले प्रहरी हस्तक्षेपको विरोध गर्दै असार १९ गते जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरेका छन् । जिल्ला शिक्षा कार्यालयमा राहत शिक्षकले असार १८ गते गरेको तालाबन्दी र धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सङ्घर्ष समितिको आह्वानमा सामुदायिक विद्यालय बन्द गरिएको सङ्घर्ष समितिका अध्यक्ष एवम् केन्द्रीय सदस्य डिल्लीबहादुर डिसीले जानकारी गराए । सङ्घर्ष समितिले असार १८ गते साँझ पत्रकार सम्मेलन गरी सामुदायिक विद्यालय, श्रोत केन्द्रहरू र शैक्षिक तालिम केन्द्र बन्द गरिने सावर्जनिक गरेका थिए । विद्यालय बन्दको कारण जिल्लामा सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको छ । शान्तिपूर्ण वातावरणमा धर्नामा बसेका शिक्षक शिक्षिकाहरूमाथि प्रहरीले लाठी प्रहार गरेको थियो । धर्नामा बसेका शिक्षक, विभिन्न शिक्षक सङ्गठनका पदाधिकारीहरू र जिल्ला शिक्षा अधिकारीबीच छलफल गर्ने प्रयास गर्दा पनि जबरजस्ति प्रहरी हस्तक्षेप भएको शिक्षकहरूले बताए । सङ्घर्ष समिति र नेपाल सरकारबीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न मागगर्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकहरूले देशव्यापी आन्दोलन गर्दै आएका छन् । अब पनि धर्नामा प्रहरीको हस्तक्षेप भए आन्दोलनका सशक्त कार्यक्रम गरिने अध्यक्ष डिसीले बताए । प्रहरी धरपकडमा महिला प्रहरी परिचालन नगरी पुरुष प्रहरीले शिक्षिकाहरूमाथि हातपात गरेको सङ्घर्ष शिक्षकहरूको आरोप छ । राहत शिक्षक सङ्घर्ष समितिको आह्वानमा जिल्ला शिक्षा कार्यालयमा धर्ना र तालाबन्दी कार्यक्रम भएको प्रहरी हस्तक्षेप विरुद्ध नेपाल शिक्षक सङ्घका सचिव रमेशकुमार पाण्डे, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सचिव दामोदर बस्नेत, अखिल नेपाल शिक्षक सङ्गठनका सचिव डोमाकान्त अधिकारी र अखिल नेपाल शिक्षक सङ्गठनका सचिव ऋषिराज अधिकारीले असार १८ गते संयुक्त विज्ञप्ति जारी गरी शिक्षक शिक्षिकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । विज्ञप्तिमा आन्दोलनप्रति ऐक्यवद्वता जनाउँदै सङ्घर्ष समितिले राखेका माग पूरा गर्न सम्बद्ध पक्षसँग माग गरेका छन् । विज्ञप्तिमा प्रहरी धरपकडप्रति खेद प्रकट गर्दै यस्ता क्रियाकलाप नदोहोर्‍याउन आग्रह गरिएको छ । गमनसिंह खडका

0 Comments

Related Reports
Related Trend Analysis