Incident Reports

१५ वर्षेदेखि चिकित्सक नहुँदा बिरामी मारमा l

2014-07-22

DM Chamling स्थापनाकालदेखि नै स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि जिल्लाका दुई क्षेत्रका बिरामी चर्को मूल्यमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि अन्यत्र जान बाध्य छन् । १५ वर्षअघि स्थापना भएको ऐसेलुखर्क र चिसापानी गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नआएपछि आसपासका बिरामी उपचारका लागि १ लाख ३० हजारदेखि १ लाख ५० हजार रुपैयासम्म तिरेर उपचारका लागि राजधानीसम्म जान बाध्य भएका हुन् । मन्त्रालय र विभागले एमबीबीएस चिकित्सक पठाएको पत्र जिल्ला स्वास्थ्य कार्यालयमा पठाए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै चिकित्सक नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका नायब सुब्बा मणिराम ढकालले बताए । चिकित्सक नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य चौकीले सरह सेवा प्रदान गरिरहेको ऐसेलुखर्क गाविस-१ का सेवाग्राही तेजप्रसाद निरौलाले बताए । उनले भने -'गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर चिकित्सक आउँदैनन्, त्यसकारण सामान्यदेखि जटिल किसिमका बिरामीलाई समेत डोकोमा बोकेर नत्र हेलिकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता छ ।' विभागबाट प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा चिकित्सक रविन्द्र श्रेष्ठलाई पठाइएको पत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आए पनि उनी बेखबर छन् । हाल चिकित्सकविहीन सञ्चालन हुँदै आएको ऐसेलुखर्क स्वास्थ्य केन्द्र स्वास्थ्य सहायक ओमजङग शाहीको भरमा सञ्चालन भइरहेको छ । यस्तै चिसापानी स्वास्थ्य केन्द्र वरिष्ठ अहेब राजकुमार दासको भरमा सञ्चालन हुँदै आएको छ । चिसापानी स्वास्थ्य केन्द्रका लागि तोकेर पठाइएका चिकित्सक पूजन बल्ललाई जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ । मेडिकल सुपरिटेन्डेन्ट कल्याण बस्नेत लामो समयदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बसेको र मेडिकल अधिकृत ओमबिजु पन्त अध्ययन बिदामा रहेकाले स्वास्थ्य केन्द्र चिसापानीका लागि पठाइएका चिकित्सक बल्ललाई जिल्ला अस्पतालमै राख्नुपर्ने बाध्यता आएको कार्यालयले जनाएको छ । कोही पहुँचका बलमा नआउने र आइहाले पनि काज मिलाएर केही दिनमै फर्कने प्रवृत्तिका कारण स्वास्थ्य केन्द्र लामो समयसम्म चिकित्सकविहीन बनेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक नवलकिशोर झाले बताए । तोकिएर पठाइएका चिकित्सकले ठाउँ ओगटेर अन्यत्र बस्दा उनीहरूको ठाउँमा अन्य चिकित्सक ल्याउने कानुनी बाटो पनि बन्द भएको चिकित्सक झाको भनाइ छ । महिना दिनअघि मात्र लोकसेवा आयोगबाट ५० अहेव र २९ अनमीको पदपूर्ति गरिए पनि जिल्लामा अझै ५१ जना स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालले जनाएको छ । जिल्लामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, २४ स्वास्थ्य चौकी र ४९ वटा उपस्वास्थ्य चौकी छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis