Incident Reports

रसुवामा रेडपाण्डा पार्क निर्माण नसकिँदै तोडफोड

2021-07-13

Bagmati, Rasuwa, Gosaikunda, Ward 6

रसुवाको सदरमुकाम धुन्चेमा निर्माणाधीन रेडपाण्डा पार्क निर्माण सम्पन्न नहुँदै तोडफोड हुन थालेको छ । तीन वर्ष अघिदेखि निर्माण सुरु भएको पार्क सम्पन्न नहुँदै पार्कका संरचनामा तोडफोड भएको हो । गत असार २९ गते राति पार्कमा राखिएको विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको मूर्तिको टाउको फुटाइएको छ । साथै, पार्कमा यत्रतत्र बियरका बोतल फुटाइएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरी १५ दिन हिरासतमा राखी अनुसन्धान सुरु गरेको थियो । पाँचैजनालाई बुधबार धरौटीमा रिहा गरिएको छ भने अन्य चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । ‘रेडपाण्डाको स्ट्याचुको टाउको फुटाइएको छ, पार्कभित्र बियरको सिसाहरू पनि भेटिएको छ, वास्तविकताबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

चारवर्ष अघि सदरमुकाम धुन्चेसमेत रहेको गोसाइँकुण्ड गाउँपालिका– ६ मा रेडपाण्डा पार्क निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । कुल सात करोड लागतमा पार्क निर्माण गर्ने लक्ष्यसहित डिपिआर बनेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । उनका अनुसार पार्कको निर्माण कार्य सुरु गरिएको तीन वर्ष भएको छ ।

हालसम्म गोल घर निर्माण, रेडपाण्डाको स्टयाच्यु निर्माण, शौचालय निर्माण, पिकनिक स्पोर्ट, घेराबार, घले दरबारसम्म जाने बाटो निर्माण तथा घले दरबारको मर्मत सम्भार, गार्ड घर, महिला र पुरुष भएको तामाङ वेशभूषामा आधारित स्ट्याचु निर्माण, बाल उध्यानका लागि संरचना निर्माण, बिरुवा रोप्नेलगायतको काम सम्पन्न भएको छ ।

बगैँचा निर्माण, तामाङहरूको बारेमा जानकारी दिन सूचना केन्द्र निर्माण, बाल उद्यानका सामग्री खरिद, रेडपाण्डाको स्ट्याचुलाई आकर्षित बनाउने अन्य कार्य, दुबो रोपन, फिटनेस क्लब, घलेदरबारको भित्री अंशको मर्मतसम्भारलगायतका कार्य अझै बाँकी रहेको छ ।

पार्क निर्माणमा हालसम्म ९५ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष तामाङले बताए । पहिलो वर्ष गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो । दोस्रो वर्ष बागमती प्रदेश र गाउँपालिकाले ५०–५० लाख बजेट विनियोजन गरेको थियो । तेस्रो वर्ष ३० लाख गाउँपालिकाले बजेट छुट्याएको थियो । यो वर्ष गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ । पार्क निर्माणको काम तायुङ निर्माण सेवाले गरिरहेको छ ।

पार्क निर्माण भइरहेको र यस अवस्थामा गाउँपालिकाले निगरानी गर्न नसक्ने गाउँपालिका अध्यक्ष तामाङले बताए । ‘पार्क निर्माणका कामहरू बाँकी छ, ठेकेदार कम्पनीले हामीलाई जिम्मा लगाएको छैन, निर्माण पूरा भएपछि गाउँपालिका आफैँले निगरानी राख्न सक्दैनौँ, किनकि यो काम धेरै महँगो हुन्छ, निजी क्षेत्रलाई टेन्डर लगाएर वार्षिक रूपमा शुल्क तोकेर जिम्मा लगाउने हो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले सेवा–सुविधा कति लिने, कुन संरचना राख्ने भन्ने सम्झौतामा राख्न सकिन्छ, अहिले कामहरू सबै सकिएको छैन ।’

पार्क निर्माणअघि अनुमान गरेको र डिपिआर गरेको मूल्य र वास्तविक लागतसमेत बढिरहेको उनले जानकारी दिए । बजेट अभावले डिपिआरअनुसारको काम पूरा हुन नसकेको उनको भनाइ छ । संघ तथा प्रदेशमा बजेटका लागि माग गरिएको भए पनि पर्याप्त बजेट नआएको उनको भनाइ छ ।

पार्क मात्रै होइन सदरमुकाम धुन्चेमा मर्मत–सम्भार गरिएको बालमन्दिरको संरचनामा समेत तोडफोड भएको छ । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रममार्फत ०७६/७७ मा बालमन्दिरको मर्मत–सम्भारका लागि ५० लाख बजेट विनियोजन गरी मर्मत–सम्भार गरिएको थियो ।

बालमन्दिरमा खेलमैदानको मर्मत, कार्यक्रम सञ्चालनका लागि मञ्च भवन निर्माण, प्याराफिट मर्मत तथा निर्माण, रंगरोगन, टायल हाल्नेलगायतका गतिविधि गरिएको थियो । तर, अहिले कार्यक्रम सञ्चालनका लागि निर्माण गरिएको मञ्चको ढोका, सिलिङ तोडफोड भएको छ । कसले र किन गर्‍याे भन्ने थाहा छैन । रातको समयमा आएर निर्माण गरिएका संरचनाहरूमा तोडफोड भएको पाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । यस्ता घटनाहरू घट्न थालेसँगै अहिले प्रहरी गस्ती बढाइएको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports