Incident Reports

दर्जनौ गाविसका बासिन्दा स्वास्थ्य सेवा पाउनबाट बञ्चित l

2014-07-26

Devraj Gurung तापेथोक उपस्वास्थ्य चौकी पाँच महिनादेखि बन्द छ । यहाँका अहेब तथा ग्रामीण स्वास्थ्य कार्यकर्ता दुवै नहुँदा स्वास्थ्य चौकी बन्द भएको हो । उपस्वास्थ्य चौकी बन्द भएकाले गाउँलेबाट रकम सङ्कलन गरी एक जना अनमीको व्यवस्था गरिएको छ । अनमी विमला लिम्बूलाई मासिक एघार हजार रुपियाँ दिएर राखिएको छ । सेवा पाउनबाट बञ्चित यहाँका सेवाग्राहीले गोजीको पैसा खर्चेर अनमीको व्यवस्थापन गरी स्वास्थ्य सेवा लिनु रहर नभई बाध्यता बनेको अमिर लिम्बुले बताए । "कर्मचारी अभावमा सिटामोल खानसमेत समस्या बन्यो । बाध्य भएर अनमीको व्यवस्था गरेका छौँ ।" यद्यपि गाउँलेद्वारा अनमीको व्यवस्थापन सधैँभरि सम्भव भने नहुने बताउँछन् । उता ओलाङचुङगोलाको स्वास्थ्य चौकीमा वर्षौँदेखि स्वास्थ्यकर्मी पुगेका छैनन् । स्थानीय टासी शेर्पाले १० वर्षेदेखि अहेब नआएको जानकारी दिए । अनमीको दरबन्दी रहेको यो स्वास्थ्य चौकीमा मातृ शिशु कार्यकर्ताले काम चलाई रहेपनि उनको मृत्युपछि यो स्वास्थ्य केन्द्र पनि बन्द छ । शेर्पाले भने,"अहेब आएको थाहा छैन । मातृ शिशु कार्यकर्ताको मृत्यु भएपछि केन्द्रमा चाबी झुन्डिएको छ ।" ज्वरो र रुघाखोकी जस्ता सामान्य बिरामी हुँदासमेत चेकजाँचका लागि घन्टौँ पैदल हिडेर लेलेपस्थित स्वास्थ्य चौकीमा धाउनुपर्ने बाध्यता छ । "हाम्रो समस्या कसैले बुझेनन् कि क्या हो । कुनामा बसेर दुनामा खाने भनेर हेपेका होलान् ।" शेर्पाले भने,"समस्या थाहा पाए पनि कानमा तेल हालेर बस्छन् ।" उक्त क्षेत्र सदरमुकामदेखि करिब दुई दिनको पैदल दूरीमा पर्छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सूर्यबहादुर गुरुङले कर्मचारी अभावमा स्वास्थ्य चौकी रित्तो बनेको स्वीकार गरे । उनका अनुसार स्वास्थ्य सेवा विभाग र मन्त्रालय समेतलाई स्वास्थ्यकर्मीको अभावका बारेमा जानकारी गराए पनि पदपूर्तिमा समस्या हुँदा गाउँका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पठाउन सकिएको छैन । डाक्टरको दरबन्दी रहेका यहाँका दुई प्राथामिक स्वास्थ्य केन्द्र क्रमशः तेल्लोक र ढुङ्गेसाँघुमा चार वर्षेखि डाक्टर नपुगेको गुनासो सेवाग्राहीको छ । कार्यालयका अनुसार जिल्लामा रहेका ५३ स्वास्थ्य संस्थाहरु मध्ये २६ वटा स्वास्थ्य सस्था स्वास्थ्यकर्मीविहीन छन् । ३९ उप-स्वास्थ्य चौकी मध्ये १४ ओटामा अहेब छैनन् भने १२ ओटा स्वास्थ्य चौकीमध्ये नौ ओटा हेल्थ असिस्टेन्ट विहीन छन् । हाङपाङ, थिङलाबु, थुकिमा, लिङ्खिमको सिंवा, लेलेप, ओलाङचुङगोला, चाँगे, थेचम्बु र सिनाम स्वास्थ्य चौकीमा हेल्थ असिस्टेनको दरबन्दी रहे पनि पदपूर्ति भएको छैन । लिवाङ, सावादिन, तापेथोक, फुरुम्बु, फावाखोला,खेवाङ, पेदाङ, आम्बेगुदिन, कालिखोला, चाक्सिबोटे, सुरुम्खिम, निघुरादिन, फूलबारी, खाम्लुङ र लिङतेप उप-स्वास्थ्य चौकीमा अहेब नभएको सेवग्राहीले गुनासो गरेका छन् । देवराज गुरुङ

0 Comments