Incident Reports

किरात जनवादी वर्कर्स पार्टीले सरकारलाई हतियार बुझाउने l

2014-07-28

DM Chamling पूर्वी नेपालमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले आफूसँग रहेको हतियार सरकारलाई बुझाइ शान्तिपूर्ण राजनीतिमा सहभागी हुने प्रतिबद्धता जनाएको छ । साउन ११ गते इलाममा भएको सरकारसँगको वार्तामा किरात जनवादी वर्कर्स पार्टी विद्रोही (समूह)को राजनीतिक माग पूरा गराउन सरकार प्रतिबद्ध रहेको र वर्कर्सले आफू सम्बद्ध नेता, कार्यकर्ता र पार्टीसँग रहेको हातहतियारको विवरण वार्ता उपसमितिलाई बुझाउने लिखित प्रतिबद्धता जनाएको किरात जनवादी वर्कर्स पार्टीका वार्ता टोली संयोजक भरुण किरातीले बताए । वार्ताको क्रममा विभिन्न चार बुँदे सम्झौता गरिएको किरातीको भनाइ छ । वार्ताको क्रममा सरकार र वर्कर्सबीच आपसी विश्वासको वातावरण तयार गरी शान्तिपूर्ण संविधान निर्माणमा अग्रसर रहने, वर्कर्सको समस्याको समाधानका लागि सरकारले पहल गर्ने, वर्कर्सले प्रस्तुत गरेको संविधान निर्माणको विषयवस्तुलाई वार्ता उपसमितिले गम्भीरतापूर्वक लिनेलगायतका बुँदामा सहमति भएको छ । वार्तामा वर्कर्सको तर्फबाट संयोजक भरुण किराती, सान्केन्मा किराती, विरु किराती र किरावा सहभागी थिए भने संवैधानिक राजनीतिक संवाद समितिको तर्फबाट संयोजक आनन्द ढुंगाना, सदस्यहरू अशोक राई, आरके खम्वु, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, सर्बेन्द्र शुक्ल तथा शान्ति तथा पुनर्निर्माण मन्त्रालय र गृहमन्त्रालयको सहसचिवको सहभागिता रहेको थियो । वार्ताको सहजीकरण भीष्मराज आङ्देम्वे र आरके खम्वुले गरेका थिए । किराँत जनवादी वर्कर्स पार्टी सरकारबीच यसपटक समेत गरी विभिन्न मितिमा ६ पटकसम्म वार्ता सम्पन्न भइ सकेको छ । पछिल्लो समय काभ्रेको धुलिखेलमा ०७० असार १८ गते वर्कर्स र सरकारबीच वार्ता भएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis