Incident Reports

मन्त्रीले दुर्व्यवहार गरेको विरोधमा कांग्रेस कार्यालयमा प्रदर्शन- समाचार - कान्तिपुर समाचार

2021-09-23

काठमाडौँ — क्रियाशील सदस्यताको विषयमा धर्ना बसेका कार्यकर्तालाई मन्त्रीले दुर्व्यवहार गरेको भन्दै कांग्रेस मुख्यालयमा नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । शान्तिपूर्ण रुपमा धर्ना दिँदै आएका उनीहरुले बिहीबार भने नाराबाजीसमेत गरेका छन् । नेता कार्यकर्ताहरुले 'गुण्डागर्दी बन्द गर ! कार्यकर्ता कुट्न पाइँदैन ! विधान सम्मत क्रियाशील लागू गर !' भन्दै नाराबाजी गरिरहेका छन् । सदस्यताको विषयमा धर्ना दिइरहेका सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महत्तो र प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहका बीच मंगलबार वादविवाद भएको थियो । त्यसैको विरोधमा सर्लाहीका सांसद अमरेशकुमार सिंहसहित नेता कार्यकर्ताले बिहीबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुको विरोधमा पौडेल समूहका नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् । धर्नामा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला लगायत नेताहरु पुगेका छन् ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले पार्टी कब्जा गर्ने नाउँमा गुण्डागर्दी मौलाएको बताए । ‘हरेक दिन क्रियाशीलका विषयमा फरक फरक निर्णय भइरहेका छन् । बिहान एउटा निर्णय हुन्छ, बेलुका अर्को हुन्छ । त्यही कारण प्रदेश २ को विवाद मिलेको छैन,’ कोइरालाले भने, ‘पार्टी कब्जा गर्ने नाममा जुन गुण्डागर्दी भएको छ, यो हामीलाई मान्य छैन ।’ नेता कोइरालाले कांग्रेसको इतिहासमै पहिलो पटक सभापति शेरबहादुर देउवाले आफ्नै जिल्लामा प्रहरी परिचालन गरेर अधिवेशन गरेको आरोप लगाए ।मन्त्री सिंह र वडाध्यक्ष महत्तोका बीच क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवादमा यादव र महत्तोबीच हात हालाहालको स्थिति बनेको थियो ।नेता अमरेशकुमार सिंहले भने पार्टीमा दारुवाला र भट्टीवालाको राज नचल्ने बताए । ‘पार्टी कब्जा गर्न दिदैनौँ, यो दारुवाला र भट्टीवाला ठेकेदारले बनाएको पार्टी होइन । एउटा मन्त्रीबाटै कार्यकर्तामाथि जो हातपात भएको छ, यो कुनैपनि हालतमा स्वीकार्य छैन । कार्यकर्ता कुट्ने मन्त्रीलाई कारवाही हुनुपर्छ,’ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने, ‘म पार्टी सभापतिसँग यो माग गर्दछु ।’ क्रियाशील सदस्यताको टुंगो नलाग्दा कांग्रेसले १८ भदौमै गर्न चाहेका प्रदेश २ का आठसहित १३ जिल्लामा वडा तहको अधिवेशन अहिलेसम्म पनि हुन सकेको छैन । त्यहीकारण महाधिवेशनको पुरै कार्यतालिका नै प्रभावित हुँदै आएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments