Incident Reports

कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए

2022-05-05

Bagmati, Sindhupalchok, Balefi, Ward 5

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको वडा ५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताद्वारा कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन ०७९ नजिकिँदै गर्दा बिहीबार बेलुकी नौ बजे घरदैलो अभियान सकेर घर फर्किएका बलेफी गाउँपालिका वडा ५ का वडा प्रतिनिधि कुमार तामाङसहित चार जनामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार जानकारी आएलगत्तै प्रहरी पुगेको र घटनाबारे आवश्यक छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ । कुटपिटबाट चार घाइतेमध्ये वडा प्रतिनिधि तामाङको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ । दुवै समूहको पक्षमा के कसरी झडप भएको भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरिएको र यस्ता गतिविधि हुन नदिन सुरक्षाकर्मी सक्रिय रहेको उनले उल्लेख गरे । ‘यसबारे थप बुझ्दैछौं, स्थलगत रुपमा अनुसन्धान हुँदैछ,’ डीएसपी बस्नेतले भने ।

कुमारसहित घाइते खड्गबहादुर तामाङ, बयान तामाङ र सुवास तामाङको बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीले बोतल, ढुंगाको प्रहारले कुमारको करङ भाँच्चिएको र बाँकी तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताएको कांग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले बताए ।
माओवादी केन्द्रका वाईसिएल फोर्सबाट योजनाबद्ध ढंगले गरिएको सामूहिक आक्रमणले घाइते चार जनामध्ये एकको अवस्था गम्भीर देखिएको उनले आरोप लगाए । ‘तीन जनाको शरीरभरि निलडाम छन् भने टाउकोमा चोट लागेका वडा प्रतिनिधि तामाङलाई स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरेका छन्, मत माग्ने सबैलाई अधिकार छ, यो साह्रै दुखद घटना भयो, ’ तामाङले भने ।
यसबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले भने आचारसंहिताको विषयलाई लिएर सामान्य विवाद मात्रै भएको पाइएको बताए । माओवादी केन्द्रका कार्यकर्ता भने कोही पनि घाइते नभएको उनले जनाए । ‘दुवैबीच सामान्य विवादको कुरा आएको छ, ’ उनले भने ।
‘सल्लाह गर्ने बहाना बनाएर मरणासन्न हुने गरी कुटे ’
बिहीबार बेलुकी अबेरसम्म बलेफी गाउँपालिकाको आँपबोटमा नाचगान चल्दै थियो । घाइते वडा प्रतिनिधि कुमार तामाङका अनुसार चार जनालाई वाईसिएलका २० जनाको टिमसँगै बसिरहेका बलेफी गाउँपालिका ५ वडासदस्य पदका उम्मेद्वार रामबहादुर तामाङले आफूलाई ‘सल्लाह गर्नुपर्‍यो’ भनेर बोलाएका थिए ।
चिनजानको आधारमा आफू एक्लै उनीकहाँ गएको उनले बताए ।‘यहाँ तपाईंहरुले मत माग्न पाउनुहुन्न, यहाँ भोट माग्न नआए हुन्छ यो हाम्रो ‘एरिया’ हो’ भनेर धम्क्याएपछि केही बाझाबाझ सुरु भएको थियो । ‘हामीले मत माग्न पाउने सबैलाई समान अधिकार छ, यस्तो कुरा कहाँ हुन्छ ? भनेर बहस गरेका थियौं’ भनेर आफ्नो कुरा राखेको उनले बताएका छन् । आफूलाई चारैतिरबाट धकेलाधकेल भएपछि उनले केही पर बसेका तीन जनालाई गुहार माग्दै चिच्याएका थिए ।
तामाङलाई हुलबाट निकाल्न आएका तीन जनालाई देखेपछि एकाएक बोतल, लाठी, ढुंगाले जथाभावी प्रहार गर्न थालेका थिए । ज्यान जोगाउन भागेर गाउँमा पुगेका उनले लुकेर सुरक्षाकर्मी र दलका नेतालाई खबर गरेका थिए । कुटपिटका क्रममा उनको आफ्नो टाउको, ढाड र खुट्टामा चोट लागेको छ । ‘स्वास्थ्यकर्मीले करङ भाँच्चिएको भनेका छन्, टाउकोमा चोट लागेको छ, जिउ उठाउन सकिरहेको छैन्, साह्रै गाह्रो भयो, सल्लाह गर्ने बाहानामा निर्घात कुटे,भागेर ज्यान जोगायौं,’ उनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments