Incident Reports

जबरजस्ती ट्रिपर चलाउन खोजेपछि स्थानीयवासी आन्दोलित

2022-06-23

Lumbini, Dang, Banglachuli, Ward 1

दाङको सोनापुर सिमेन्ट उद्योगले जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । यसअघि पटकपटकको आन्दोलनपछि ट्रिपर सञ्चालन बन्द भए पनि सोनापुर सिमेन्टले बंगलाचुली–१ मा सञ्चालन गर्न थालेको नयाँ खानीमा जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीसँग कुनै सल्लाह नगरी मंगलबार जबरजस्ती ३१ वटा ट्रिपर पठाएपछि स्थानीयवासी स्वस्फूर्तरूपमा आन्दोलित भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर १ र २ का नागरिक विरोधमा उत्रिएपछि घोराहीबाट प्रहरीसमेत पठाइएको थियो । स्थानीयवासीको विरोधपछि सर्वपक्षीय छलफल गरेर मात्रै ट्रिपर चलाउने गरी तत्कालका लागि ट्रिपर सञ्चालनमा बन्द गरिएको बंगलाचुली–१ का अध्यक्ष विष्णु कुँवरले जानकारी दिनुभयो । जबरजस्ती ट्रिपर सञ्चालन गर्न थालेको भन्दै पूरै गाउँबासी आन्दोलनमा उत्रेर सडकमै सुतेका थिए । बंगलाचुली गाउँपालिकाको बोझपोखरा नजिक रातडाँडामा नयाँ चुनढुंगा सञ्चालनमा आउन थालेपछि स्थानीयवासी धूलोधूवाँको डरले त्रसित भएका छन् ।

यो खानी सञ्चालनमा आएपछि बोझपोखरा, पुरुङ, हर्नकलगायतका बासिन्दा पीडित हुनेछन् । कालीमाटीदेखि ट्याङखोलासम्मको सडक साँघुरो रहेको, सडकभन्दा तल र माथिका घरहरू असुरक्षित रहेको र धूलोधूवाँको खतरा रहेकाले यसको यथोचित व्यवस्थापनविना ट्रिपर सञ्चालन गर्न नहुने स्थानीयको अडान रहेको अध्यक्ष कँुवरले जानकारी दिनुभयो ।बंगलाचुली–२ का बासिन्दाले पनि जबरजस्ती ट्रिपर सञ्चालनको विरोध गरेका छन् । लामो समयदेखि घोराही सिमेन्ट उद्योगले तापा खानीबाट ढुंगा लिँदा सडक तहसनहस हुनुका साथै स्थानीयवासी प्रभावित भए पनि उनीहरूले केही प्रतिफल नपाएको भन्दै पुनः अर्को उद्योगले नयाँ खानी सञ्चालनमा ल्याउँदा स्थानीय त्रसित भएका छन् । गाउँपालिका, सिमेन्ट उद्योग र प्रभावित क्षेत्रका बासिन्दाबीच असार १२ गते सर्वपक्षीय छलफल गरेर निकास खोज्ने तयारी भएको बंगलाचुली–२ का अध्यक्ष मैते पुनले जानकारी दिनुभयो ।

ट्रिपर सञ्चालन गर्न नदिने सरोकार समितिको निर्णय

यसैबीच घोराही–बंगलाचुली सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिले विगतका सहमति कार्यान्वायन नहुँदासम्म ट्रिपर सञ्चालन गर्न नदिने निर्णय गरेको छ । समितिका अध्यक्ष नारदमणि पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–४ का अध्यक्ष मुनाल घिमिरे, घोराही–१७ का अध्यक्ष रामलौटन चौधरी, घोराही–१८ का सदस्य किरण पोख्रेललगायतको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।‘असार ७ गते सोनापुर सिमेन्टका केही ट्रिपर जबरजस्ती चलाउन खोजेकाले उक्त कार्यको विरोध गर्दै सरोकार समितिसँग जिल्ला प्रशासन, बंगलाचुली गाउँपालिका र घोराहीका वडाहरूबीच विगतमा सहमति कार्यान्वायन नगर्दै कुनै पनि हालतमा ट्रिपर सञ्चालन गर्न नदिने निर्णय गरियो’ –बैठकपछि संयोजक पोख्रेलले भन्नुभयो ।

साथै नेपालको संविधानले नागरिको मौलिक हकमा ग्यारेन्टी गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित नहुँदै ट्रिपर सञ्चालनमा जबरजस्ती नगर्न पनि बैठकले सबैलाई सचेत बनाएको छ । बैठकमा सडक प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिसहित झन्डै एक सय स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis