Incident Reports

उम्मेदवारलाई प्रश्न गर्दा कुटपिट, उल्टै प्रहरीलाई बुझाइयो

2022-11-16

Province 1, Morang, Katahari, Ward 3

मोरङको कटहरी गाउँपालिका–३ चम्राहीमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा उम्मेदवारमाथि प्रश्न गर्ने एक जना युवक कुटिएका छन् । सुनसरीको कोसी गाउँपालिका–७ घर भई कटहरीमा डेरा गरेर बस्दै आएका २१ वर्षीय शंकरकुमार साफीलाई गठबन्धन समर्थकले कुटपिट गरेका हुन् । कटहरीमा बसेर दैनिक ६० जना विद्यार्थीलाई उनले ट्युसन पढाउँदै आएका छन् । कटहरी–३ का वडाध्यक्ष जद्दुलाल कामतसहित सत्तारुढ गठबन्धनका ४-५ जनाले धुरिएर आफूमाथि कुटपिट गरेको साफीले बताए । चम्राहीको मदरसामा गठबन्धनले बुधबार चुनावी सभाको आयोजना गरेको थियो ।

सभामा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदी लगायत सहभागी थिए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका मोदीले सभामा आफ्नो मन्तव्य राखेपछि साफीले ‘तपाईं १० वर्ष सांसद भएर आफ्नो क्षेत्रमा के के विकास गर्नु भयो र अहिले भोट माग्दै आउनुहुन्छ’? भनेर प्रश्न गरेका थिए । सार्वजनिक हिसाबले आयोजना गरिएको कार्यक्रममा माओवादी नेतालाई प्रश्न गर्दा साफीमाथि कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रश्न सोधेको निहुँमा कुटपिट गरिएपछि सभा भाँडिएको थियो । साफीले भने, ‘मैले प्रश्न गर्नासाथ कुटपिट गर्न थाले । कार्यक्रमबाट बाहिर निकाले । उनीहरुले फेरि प्रश्न गर्छन् भन्दै पिटे । मैले गर्छु भनिदिएँ ।’

उम्मेदवारमाथि प्रश्न गर्न किन नपाउनु भनेर जिज्ञासा राख्दा आफूलाई लछारपछार पार्दै थप कुटपिट गरिएको गुनासो उनको छ । टाउको लगायत शरीरका विभिन्न भागमा मुक्का र लात्ता प्रहार गरिएको उनले बताए । कुटपिटका कारण कानमा समस्या भएको साफी बताउँछन् ।

घटनापछि उनलाई उम्मेदवार मोदीले चिया खान र गफ गर्न आग्रह गरेका थिए । तर साफीले अस्वीकार गरे । साफी विज्ञान संकायमा स्नातकको पढाइको तयारी गर्दैछन् । उम्मेदवार र जनप्रतिनिधिमाथि प्रश्न गर्दा कुटाइ खाइन्छ भने पुनः प्रश्न गर्न आफू तयार रहेको उनले बताए । ‘जनताले जिताएर पठाएका र पुनः भोट माग्दै आएका जनप्रतिनिधिलाई प्रश्न नै गर्न नपाउने यो कस्तो प्रवृत्ति हो ?', उनले प्रश्न गरे । कुटपिटपछि सत्ता गठबन्धनका कार्यकर्ताले उनलाई उल्टै सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए । सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगायो । तर नियन्त्रणमा नराखिकन साफीलाई छाडिसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

‘घटना खासै ठूलो हैन । उम्मेदवार र जनप्रतिनिधिहरुलाई आमनागारिकले प्रश्न गर्छन् नै । तर प्रश्न गरेकै निहुँमा कुटपिट गर्नुपर्ने कुनै कारण थिएन,’ घटनास्थलमा रहेका एक जना सुरक्षाकर्मीले भने, ‘होहल्ला र कुटपिट हुन थालेपछि त्यहाँको अवस्था असामान्य हुने देखेर प्रश्नकर्तालाई नियन्त्रणमा लिँदै नेपाल प्रहरीको जिम्मा लगाइयो हो । त्यसपछि माहोल अलि साम्य भयो ।’ ती सुरक्षाकर्मीका अनुसार उम्मेदवारलाई प्रश्न गर्ने युवामा अलि बढी आक्रोश देखिन्थ्यो । ‘आक्रोशपूर्ण हिसाबले प्रश्न गर्नु भनेको आमनागरिकको असुन्तष्टिका रूपमा बुझ्नुपर्छ । प्रश्न गर्न नपाउने भन्ने त कुरै हुँदैन,’ उनले भने, ‘प्रश्नकर्ता कुनै पार्टीको मान्छे हो जस्तो लागेन । चुनावी सभाको सुरक्षाका हिसाबले पनि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो ।’ सुरक्षाकर्मीले नियन्त्रणमा नलिएको भए प्रश्नकर्तामाथि थप हमला हुने सम्भावना रहेको उनले बताए ।

कुटपिटको आरोप लागेका वडाध्यक्ष जद्दुलालले भने आफू कार्यक्रममा उपस्थित नै नरहेको बताए । ‘होहल्ला हुन थालेपछि म त्यहाँ पुगेको हुँ । बदनाम गराउने हिसाबले कुटपिट गरेको भनेर नाम जोडिएको छ,’ उनले भने, ‘विपक्षीले चुनावका बेला अनेक फण्डा निकाल्छन् । कार्यक्रममै नगएको मान्छेलाई कुटपिटमा संलग्न भएको आरोप लगाइयो ।’ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनले निर्वाचन आचारसंहिताका कारण चुनावी सभामा जनप्रतिनिधि जान नपाउने बताए । स्थानीयले भने वडाध्यक्ष जद्दुलाल आचारसंहिताविपरीत चुनावी सभामै उपस्थित रहेको बताएका छन् ।

उम्मेदवार मोदीका स्वकीय सचिव ताजिम अन्सारीले भने मदरसामा भएको अनौपचारिक कार्यक्रममा आएर साफीले अनावश्यक प्रश्न गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेको बताए । ‘प्रश्नकर्ता एमालेबाट परिचालित व्यक्ति हुन् । कार्यक्रमलाई असर पु¥याउन खोजेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए,’ उनले भने, ‘कुटपिट र लछारपछार भएको छैन । कुट्नलाई जनताले चैँ झम्टिन खोजेका थिए ।’ राम्रा र जिम्मेवार मान्छेहरु कार्यक्रममा उपस्थित भएकाले पनि कोही कसैमाथि कुटपिट हुने सम्भावना नरहेको अन्सारीको भनाइ छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments