Incident Reports

बालिका बेचबिखन घटनाका आरोपितहरू गिरफ्तार

2022-12-03

धादिङ घर भएकी १६ वर्षीया एक बालिकालाई भारत पुर्‍याएर बन्धक बनाई राखेको अवस्थामा भारतको राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले ०७९ माघ १९ गते उद्धार गरेर काठमाडौँ ल्याएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार पीडित बालिका ०७९ मङ्सिर १७ गतेदेखि धादिङस्थित मामाघरबाट हराएकी थिईन् । लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए । स्थानीय प्रहरीले केही समय खोजी गरेर फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय धादिङले माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो ।

आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए । सोही क्रममा आरोपितले बालिकालाई पुस १९ गते पुन धादिङमा नै लगेर बालिकाको उचाइ, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला नभएको जाँचबुझ गरेर पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याएको श्रेष्ठले उल्लेख गर्नुभयो । एसएसपी श्रेष्ठका अनुसार आरोपितले बालिकालाई नयाँ दिल्ली पुर्याएपछि विभिन्न स्थानमा रहेका तीन फरक तान्त्रिक बाबा समक्ष भेट गराएका थिए ।

आरोपितले बालिकालाई मुख्य तान्त्रिक बाबासँग पुर्णिमाका दिन भेटाउने बताएका थिए तर घटनाबारे अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडित बालिकालाई दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी, किन इन्डियालगायत संस्थासँग समन्वय गरी माघ १७ गते उद्धार गर्न सफल भएको एसएसपी श्रेष्ठले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइहेकाले उद्धार गरिएकी बालिका तथा गिरफ्तार भएका आरोपितहरूको विवरण सार्वजनिक नगरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

0 Comments