Incident Reports

नेपालमा मानवअधिकार रक्षकको संरक्षणका लागि कानुनको आवश्यकताः सरोकारवाला

2014-12-09

Ramesh Timalsina मानवअधिकार रक्षकले विशिष्ट स्थितिमा काम गर्नुपर्ने हुँदा मानवअधिकार रक्षकहरुको संरक्षणका लागि कानुनको आवश्यकता रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । उनले मङ्सिर २३ गते ललितपुरमा आयोजना गरिएको मानवअधिकार रक्षकका अधिकारको संरक्षणमा राष्ट्रिय कानुनको आवश्यकता र मानवअधिकार रक्षकको अवस्था विषयक अन्तरक्रियामा अध्यक्ष प्याकुरेलले यस्तो कुरा बताएका हुन् । प्याकुरेलले भने-'सबैभन्दा बढी मानवअधिकार रक्षक कानुन निर्माता हुनुपर्छ । पछिल्लो समय मानवअधिकार रक्षकमाथिको आक्रमण घटेको र मानवअधिकार उल्लङ्घनका घटनाहरु पनि कम भएपनि अभिलेखमा भने बढेको बताए । मानवअधिकार रक्षकहरुका लागि कानुन बनाउन र कानुन पास गराउन भूमिका खेल्ने सभासद् कमला सुवेदीले प्रतिबद्धता जनाइन् । सभासद् दिलशोभा पुनले द्वन्द्वको कठिन परिस्थितमा पनि आफ्नो जीवनको परवाह नगरी काम गर्दै आएका मानवअधिकार रक्षकहरुको अधिकारका लागि कानुनको माग नगर्नुपर्ने अवस्था राज्यले सिर्जना गर्नुपर्नेमा सो नभएको बताइन् । इन्सेककी बहस तथा पैरवी इकाई प्रमुख अधिवक्ता सम्झा श्रेष्ठले मानवअधिकार रक्षकहरुको न्यूनतम सुरक्षाको सुनिश्चितता गर्न र रक्षकको काम कारबाही र सेवालाई नियमित गर्न राष्ट्रिय कानुनको आवश्यकता हुने बताइन् । राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत बासुदेव बजगाइँले मानवअधिकार रक्षकहरुको अधिकारका विषयमा महत्व दिएर काम गरिरहेको बताए । सन् २०१४ को जनवरीदेखि जुनसम्मका ६ महिनामा नेपालमा ८२ जना मानवअधिकार रक्षक पीडित भएको इन्सेकले सार्वजनिक गरिएको छ । गएको वर्ष सन् २०१३ मा दुई सय सात जना मानवअधिकार रक्षक पीडित भएका थिए । रमेशप्रसाद तिमल्सिना

0 Comments