Incident Reports

लापरबाहीले निर्दोषले ५० दिन जेल सजाय भोगे

2015-02-27

Province 1, Ilam, Illam, Ward 9

 जिल्ला अदालत र प्रहरीको लापरबाहीका कारण श्रीअन्तु गाविस-८ तीन नम्बर व्लकका ५४ वर्षीय मणिकुमार राईले अनाहकमा ५० दिन जेल सजाय भोगेका छन् । पुनरावेदन अदालत इलामका न्यायाधीशद्वय रमेश पोख्रेल र माधवप्रसाद पोख्रेलको संयुक्त इजलासले फागुन १३ गते राईलाई थुना मुक्त गर्नै फैसला गरेको छ । साथी हत्या गरेको अभियोगमा जिल्ला अदालतबाट १० वर्षकैद सजाय सुनाइएका श्रीअन्तु गाविस-८ कै सचेन राईलाई गिरफ्तार गर्नुपर्नेमा जिल्ला अदालतको आदेशबमोजिम प्रहरीले मणिकुमारलाई ०७१ पुस २१ गते गिरफ्तार गरी जेल चलान गरेको थियो । सचेन भने ३४ वर्षअघि ०३७ चैतमा चिया बगानमा काम गर्ने हर्कप्रसाद गुरुङको हत्या गरेर फरार रहेका छन् । ०५८ साउन २० गते पत्नीको हत्या गरेका मणिकुमार ०५८ मङ्सिर १३ मा गिरफ्तार परी ०६३ असोज ७ गते अदालतबाट बाँकी कैद मिनाहसहित सफाइ पाइसकेका व्यक्ति हुन् । पछिल्लोपटक जेल परेका मणिकुमारले जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला कारागारलाई विपक्षी बनाइ पुनरावेदन अदालत इलाममा फागुन ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । रिटपछि पुनरावेदनले राईलाई थुन्नुपर्ने कारणको लिखित जवाफसहित २४ घण्टाभित्र उपस्थित हुन जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारलाई निर्देशन दिएको थियो । पुनरावेदन अदालत इलामको फैसलापछि उनी निर्दोष साबित भइ फागुन १३ गते नै जेलमुक्त भएको अधिवक्ता तथा मानवअधिकार मञ्च इलामका उपाध्यक्ष वीरबरहादुर खड्काले जानकारी दिए । यसअघि जिल्ला अदालतले कारागारलाई थमाएको कैदी पुर्जीमा मणिकुमारलाई ०८१ पुस २१ गतेसम्म जेलमा राख्ने आदेश उल्लेख थियो । निर्दोष सावित भएपनि ५० दिनसम्म विनाकारण जेल राखिएका राईले राज्यबाट क्षतिपूर्त्ति भने पाउन सकेनन् । गैरकानुनी थुनामा राखेको प्रमाणित हुँदा पनि क्षतिपूर्ति पाउने स्पष्ट कानुनी व्यवस्था नहुँदा राईले क्षतिपूर्ति पाउन नसक्ने अधिवक्ता खड्काले बताए । कोकिला ढकाल

0 Comments