Incident Reports

नेपाली युवतीहरु तेस्रो मुलुकहरुमा बेचबिखन गर्ने गिरोह पक्राउ

2015-03-18

नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकका डान्सबारमा काम लगाउने भन्दै त्यहाँ पुर्‍याएर यौन शोषण गराउने एक गिरोहमा संलग्न एक भारतीयसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपूर इमाडोलका ३४ वर्षीय राजेन्द्र सुवेदी खत्री, काठमाडौं मैतीदेबी बस्ने ३७ वर्षीय सबिन भनिने सबिनराज मानन्धर, भारतिय नागरिक २७ बषिर्य रियान भनिने तरुण रोजना खनगवाल, काठमाण्डौं इचङगु नारायणका ३९ वर्षीय ललितराजसिंह सुवाल, मोरङ विराटनगरका २८ वर्षीय सुनिल अधिकारी, संखुवासभा आँखीभुई घर भएका आशिष भनिने केदारबहादुर खडा र धनकुटाका ३० वर्षीय नबिन दाहाल छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । सुवेदी र दाहाल यसअघि पनि मानव बेचबिखन मुद्धामा पक्राउ परेका ब्यक्ति हुन् । सुवेदी २०७० भदौमा युवती बिक्रिको आरोपमा समातिएका थिए । उनीसहित ५ जनालाई ब्युरोले नै पक्रेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा छाडेको थियो । छुटेपछि पनि उनी फेरी युवती तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ । ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले सुवेदीको नेपालमा र दुबईमा समेत डान्सबारमा लगानी रहेको जनाए । डीआईजी मल्लका अनुसार काठमाडौंस्थित बिमानस्थलबाट युवती लैजान नसके भारतका दिल्ली, मुम्बई र गुजरातको अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनीहरुलाई अबैधानिक रुपमा पठाउने गरिएको छ । 'यहाँ महिनाको लाख रुपैंया कमाई हुने भनेर पठाईन्छ' मल्लले भने 'त्यहाँ पुगेपछि कोठामा बन्धक बनाएर ग्राहकसंग यौन क्रियाकलाप गर्न बाध्य पारिने गरेको पाइएको छ ।' यसरी नै बन्धक बनाइएका झण्डै ४५ नेपाली युवतीलाई ईन्टरनेशनल अर्गनाइजेशन फर माईग्रेसन' (आईएमओ) ले दुई महिना अघि उद्धार गरेको थियो । उनीहरुलाई ललितपुरको साथी संस्थाले संरक्षण दिएर राखेको थियो । प्रहरीका अनुसार तस्करहरुले बैदेशिक रोजगारीको बहानामा तस्करी गर्न कठिन भएपछि युवतीहरुलाई डान्सबार, कलाकारका साथै गोष्ठी र सेमिनारमा सहभागि हुने बहानामा समेत तस्करी गराउने गरेको पाइएको छ । पछिल्ला केहि बर्षदेखी युवतीहरुलाई तस्करी गराउँदै आएको यो गिरोहले हरेक पटक बाहिरबाट टिकट काटा सुचना चुहावट हुने डरले आफै ट्राभल एजेन्सी समेत खोलेर बसेको पाइएको छ । गिरोहका मुख्य योजनाकार सुवेदीको ललितपुरमा रहेको माउन्टेन टुर्स एण्ड ट्राभल्स सञ्चालन गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीन जना सुवेदी, मानन्धर र भारतिय नागरिक खनगवालको दुबई, केन्या र तान्जानियाका डान्सबारमा लगानी समेत छ । यो गिरोहमा सुनिल अधिकारी, ललितराज सिंह सुवाल र नबिन दाहालले काठमाडौं भित्र र बाहिर युवती खोज्ने काम गर्छन् । डान्सबार र नृत्यकला केन्द्रमा गएर उनीहरुले फुर्तिला र राम्रा केटी छान्ने गरेका छन् । राम्रा युवती देखेपछि डान्सबारको नियमित ग्राहक बन्ने र मोटो रकम डान्सर युवतीलाई टिप्स दिने गरेका छन् । 'एक हजार भन्दा माथी दिनहुँ टिप्स दिन थालेपछि नाच्ने युवती त्यस्ता ग्राहकसंग नजिकिन्छन्' अनुसन्धानमा संलग्न ब्युरोकी प्रहरी उपरिक्षक -एसपी) किरण बज्राचार्यले भनिन् 'अनि बाहिर भेटघाट बढाएर ति युवती्लाई विदेशमा मोटो रकम हुने भन्दै पठाइदिने गरेको पाइयो ।' बज्राचार्यका अनुसार युवतीलाई विदेशमा गएर नाच्ने मात्र काम भएको र त्यसबापत मासिक लाख रुपैंया कमाइ हुने लालच दिने गरेको पाइएको छ । यी तीन जनाले युवती छानेपछि दलालले भारतिय नागरिक खनगवालसंग मिलेर ति युवती छान्ने काम गर्छन् । उनीहरुले लक्षित गरेको मुलूकमा ग्राहकले खोज्ने युवतीको रुप रङ, लगायतका कुरा जाँचेपछि ति युवतीलाई मोडलिङ गराइन्छ । छोटो कपडा लगाएर फोटो खिची सम्बन्धित देशमा पठाइने गरिन्छ । अनि उताबाट युवती स्विकृत भएर आएपछि राजेन्द्र सुवेदी र सविनराज मानन्धरले विदेशी एजेन्टबाट आएको डिमाण्ड अनुसार उनीहरुलाई विदेश पठाउने काम गर्छन् । काठमाडौं स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा 'सेटिङ'को काम केदार बहादुर खडाले गर्ने गरेका छन् । गिरोहले नेपाली युवतीलाई आर्थिक प्रलोभनमा पारेर विदेशी मुलूकमा लगिन थालेपछि राजधानीका डान्सबारमा राम्रो नाच्ने युवतीहरुको अभाब भएको ब्यावसायीहरुले जनाएका छन् । ग्राहक बनेर डान्सबारमा पुग्ने दलालले शारिरीक बनावट राम्रो र नृत्य समेत राम्रो गर्ने युवतीलाई आफ्नो जालोमा पारेर लैजाने गरेका छन् । प्रहरीका अनुसार काठमाडौं बाहिरका जिल्लाबाट काठमाडौमा आउने किशोरीलाई फिल्म खेलाउने, डान्सबारमा काम लगाउने बहानामा डान्स सिकाईने गरेको छ । विदेश पठाउने युवतीलाई दलालले काठमाडौं बाहिर नै गएर खोजेर ल्याउने गर्छन् । ति किशोरीलाई डान्स सिकाएपछि महिनाको ५० हजार देखी एक लाख रुपैयासम्म नेपाली हुने भन्दै लेजाने गरेका छन् । एकदशक अघि नेपाली युवतीहरुलाई खाडी मुलुक दुबईमा डान्स गर्नका लागि लैजाने गरिन्थ्यो । अफ्रिकन मुलुकमा भने भारतिय र पाकिस्तानी युवतीहरु बढि जाने गर्थे । त्यहाँ ति युवतीहरुको यौन शोषण हुने गरेको थाहा पाएपछि ति दुई मुलुकले सुरक्षामा कडा गरेको हो । त्यहाँ कडा हुने बित्तिकै दलालहरु नेपालमा छिरेर युवतीहरु लाई ललाई फकाई र आर्थिक लालच देखाएर लैजाने गरेको प्रहरीले जनाएको छ । दुई बर्षअघिसम्म विमानस्थल अध्यागमनका कर्मचारीसंग सेटिङ मिलाएर युवतीहरुलाई यहिबाट उडाउने गरिएको थियो । तर पछिल्लो समय सुरक्षा ब्यवस्था कडा बनाएपछि उनीहरुले भारतको बाटो रोजेको प्रहरीको भनाई छ ।

0 Comments