Incident Reports

कुवेत लान खोजिएका पाँच युवतीको उद्धार

2015-06-05

Province 1, Morang, Biratnagar

प्रहरीले विराटनगरबाट भारतको जोगबनी हुँदै गैरकानुनी रूपमा कुवेत लैजान खोजिएका पाँचजना नेपाली युवतीको उद्धार गरेको छ। झुक्याएर कुवेतमा लगेर रोजगारीमा लगाइदिने भनेर गैरकानुनी रूपमा लगिएका उनीहरूलाई विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट उद्धार गरिएको हो। उनीहरूलाई केआई नेपालको संरक्षणमा राखेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ। कुवेत लान भनेर काठमाडौंबाट एकै साथ ल्याइएका १४ जनामध्ये म्याग्दीकी ३८ वर्षीया मनमाया कामी, कैलालीकी २१ वर्षीया कोपिला तामाङ, उदयपुरकी २१ वर्षीया सुमिका दनुवार, सप्तरीकी २५ वर्षीया मंगलीदेवी राम र मोरङको पथरी-शनिश्चरे नगरपालिका ८ की दुर्गा राई (जोगी) लाई उद्धार गरिएको जानकारी इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरीनिरीक्षक गंगाप्रसाद पौडेलले दिए। पौडेलका अनुसार उद्धार गरिएकामध्ये कोपिलालाई जोगबनी घुम्न र दुर्गालाई दुबई लैजान भनेर ल्याइएको खुलेको छ तर उनीहरू सबैलाई कुवेत पठाउन खोजिएको देखिन्छ। उनीसँगै कुवेत लैजान भनेर ल्याइएका नौजना कहाँ छन् भन्नेबारेमा अझै खुल्न सकेको छैन। 'रोजगारीमा लगाइदिने भन्दै झुक्याएर भारतको बाटो हुँदै १४ जनालाई कुवेत लैजान खोजिएको रहेछ', प्रनि पौडेलले भने, 'जोगबनी पार हुन लाग्दा पाँचजनाको उद्धार गर्न सफल भइयो तर अरू कहाँ छन् भन्नेबारेमा खुल्न सकेको छैन।' शंका लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उद्धार गरिएकामध्ये केहीले भारतको पानीट्यांकीमा सब्जी किन्न गएको र केहीले आफन्त भेट्न गएको भनेर प्रहरीलाई समेत झुक्याउन खोजेको जानकारी पौडेलले दिए। उनका अनुसार पानीट्यांकी जोगबनीबाट जान नसकिने र झापाको काँकडभित्ता हुँदै जानुपर्ने भएकाले पनि उद्धार गरिएकाले भनेको कुरा विश्वास गर्न सक्ने अवस्था भएन। उनीहरूलाई उद्धार गर्नासाथ कोपिलाको मोबाइलमा गोविन्द तामाङको नामबाट सबै कुरा प्रहरीलाई नखोल्नु भन्ने एउटा म्यासेजसमेत आएको छ। कोपिलाले गोविन्द आफ्नो मामाको छोरा भएको र गोविन्दसँगै सल्लाह गरेर जोगवनी घुम्न आफू निस्किएको बयान प्रहरीलाई दिएपछि प्रहरीले गोविन्दलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। 'मंगलबार उद्धार गरेपछि सबै कुरा बुझ्दा झुक्याएर भारतको नयाँदिल्ली हुँदै कुवेत लैजान खोजिएको पाइयो', प्रनि पौडेलले भने, 'गलत बाटो प्रयोग गरेर लग्न खोजिएको पाइएपछि उद्धार गरेर यस विषयमा अनुसन्धान अघि बढाइएको छ।' यसको अनुसन्धानका लागि प्रनि पौडेल आफैं खटिएका छन्। उद्धार गरिएकाले कुवेतमा गएमा राम्रो पैसा कमाउन सकिने भन्दै आफूहरूलाई लान खोजिएको र बीचबाटोमा प्रहरीले सोधपुछ गरेमा भारतको पानीट्यांकी गएको भनेर भन्न सिकाएर यहाँसम्म ल्याएको बयान प्रहरीलाई दिएका छन्। उद्धार गरिएकामध्ये दुर्गाबाहेक अन्य चेली राम्ररी आफ्नो ठेगाना पनि भन्न सक्ने अवस्थामा छैनन्। तीमध्ये मंगलीदेवी र मनमाया राम्ररी नेपाली बोल्न पनि जान्दैनन्। उनीहरूले काठमाडौंमा विशाल भन्ने पुरुष र मोटी भन्ने महिलाले विभिन्न प्रलोभन देखाएर कुवेत जानुपर्छ र त्यसको खर्च पनि नलाग्ने भनेर ल्याएको बताएका छन्। उनीहरूले राहदानी बनाउँदा लाग्ने खर्च पनि आफैं लगाइदिने भनेर ल्याइएको बताए। 'एउटा टोलीमा हामी १४ जना थियौं। हामीलाई ललितपुरको सातदोबाटोबाट गाडी रिजर्भ गरेर ल्याइयो', उद्धार गरिएकीमध्ये दुर्गाले भनिन्, 'हामीसँगै गाडीमा आफूलाई मोटी भनेर चिनाउने दिदी पनि हुनुहुन्थ्यो तर विराटनगर ल्याएर जोगबनीको बस चढाएपछि उहाँ हराउनुभयो।' दुर्गाका अनुसार विराटनगरबाट जोगबनीसम्म सञ्चालन हुने अलगअलग बसमा १४ जनालाई चढाएर मोटी भन्ने महिला त्यहाँबाट जोगबनीतर्फ लागेकी थिइन्। 'मोटी दिदीले यो बसमा चढेर आउनु अनि जहाँ ओराल्छ त्यहाँबाट पारिपट्टी (जोगबनी) आउनु हामी त्यहाँ हुन्छौं भन्नुहुन्थ्यो', दुर्गाले प्रहरीसँगको बयानमा भनेकी छन्, 'हामी पारिपट्टि पुग्नै नपाईकन प्रहरीले नियन्त्रणमा लियो।' उद्धार गरिएकाहरूले तत्काल सही बयान नदिएका कारण पनि उनीहरूसँगै गएका अन्य नौजना चेलीको त्यहीबेला उद्धार गर्न नसकिएको र उनीहरू कहाँ छन् भन्नेबारेमा अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। 'उद्धार गर्नासाथ सही बयान दिएका भए हामी अन्य चेलीहरूको उद्धार गर्न पनि सफल हुने थियौं। उनीहरूलाई लिएर जानेलाई पनि पक्राउ गर्न सक्ने थियौं', प्रनि पौडेलले भने, 'उनीहरूको उद्धार मंगलबार गरियो तर कुबेत लैजान खोजिएको भन्ने कुरा बुधबार मात्र खुल्यो।' शंका लागेकै कारण उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर केआई नेपालमा राखिएको जानकारी उनले दिए। उनीहरूलाई लिएर जाने गिरोह भारतपट्टिको भूमिमा बसेर हेरिरहेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिनासाथ त्यहाँबाट भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले अन्य नौजनालाई भारत कटाइसकेको हुन सक्ने पनि बताएको छ।
National/Online Media

0 Comments