Incident Reports

पीडित युवतीलाई फन्दामा पार्दै दलाल

2015-06-09

Bagmati, Kathmandu, Kathmandu

 काभ्रे दाप्चाकी सुकु (नाम परिवर्तन) का बुवाको वैशाख १२ को भूकम्पमा परी निधन भयो। सडकमा झाडु लगाउने पेसामा संलग्न आफ्नी आमासँग बस्दै आएकी १७ वर्षीया सुकुका दुई वर्षको छोरो पनि छ। छोरा टेक ुमा बहालमा बस्ने उनका पतिसँगै छ। पति र सासूले अर्कैको गर्भधारण गरेको भन्दै सुकुलाई कुटपिट गर्न थालेपछि उनी घर छाडेर माइतीमै बस्न थालिन्। जिउभरि चक्कुको दाग देखाउँदै उनले भनिन्, 'मैले बच्चा पाएपछि अस्पतालमा आएर उसले हामी आमाछोरालाई घर लग्यो। तर घर छिर्नासाथ सासू र उसको दुव्र्यवहार सहन नसकेर बच्चा छाडेर माइत आएँ।' उनका पतिले अर्को विवाह गरिसके भने उनको पनि प्रेमी छ। यत्तिकैमा एक दिन उनकी साथी मोहिता (नाम परिवर्तन) ले आफूलाई भारतको पन्जाबस्थित पटियालामा नाच्न जाने प्रस्ताव राखिन्। मोहिता र उनकी दिदीका पन्जाबीसँग प्रेमसम्बन्ध रहेकाले प्रेमीहरूकै उनीहरूले मागअनुसार विवाहका कार्यक्रममा नाच्न अरू युवती पनि खोज्न थालेका थिए। सात महिना पटियालामा डान्स बारमा काम गरेर फर्केका यी दिदीबहिनीले सुकु र भक्तपुरमा बस्ने १७ वर्षीया सीमा (नाम परिवर्तन) लाई पनि भारत जान राजी गराए। दिनमा सात सय भारु कमाइ हुन्छ भनेपछि सुकु र सीमा परिवारको स्वीकृतिमा भारत जान तयार भए। त्यसपछि सुकु, सीमा र अन्य दुई युवती पन्जाबी युवकहरूसँग भारततर्फ लागेका थिए। कञ्चनपुरस्थित बनबासा नाकामा माइती नेपालले सोधपुछ गर्दा ती युवकहरू त्यहींबाट भागेका थिए। मोहिताका दिदीबहिनी, सुकु र सीमालाई माइती नेपालले नियन्त्रणमा लिएर काठमाडौं पठाइदिएको छ। सुकुले भनिन्, 'माइती नेपालले हामीलाई रेस्क्यु गरेर यहाँ ल्याएकोमा धेरै खुसी लागेको छ। सानै काम भए पनि आफ्नै देशमा मेहेनत गरेर कमाउनुपर्छ भन्ने महसुस भएको छ।' दुई कक्षामात्र पढेकी सुकु आफैंलाई बेच्न लैजाँदा चाल नपाएकोमा निकै दु:ख लागेको बताउँछिन्। मोहिता र उनकी दिदीले भने आफूहरूलाई प्रेम गर्ने र विवाह गर्ने प्रलोभनमा पन्जाबी केटाहरूले फसाएको बताए। पतिले त्यागेका मोहिताकी दिदीकी ६ वर्षीया छोरी छन्। पन्जाबी केटाले माया गर्छु, विवाह गर्छु र राम्रो काममा पनि लगाइदिन्छु भनेकाले छोरीसहित पन्जाब जान तयार भएको उनले बताइन्। दिदीबहिनीको पासपोर्ट बनाउन लिएको ऋण तिर्न पनि आफूहरू पन्जाबी केटाहरूले भनेअनुसार काममा जान तयार भएको मोहिताले बताइन्। उनले भनिन्, 'उनीहरूलाई पक्रेर कानुनअनुसार सजाय दिनुपर्छ। नत्र अन्य नेपाली केटीलाई पनि फसाउन सक्छन्।' विनाशकारी भूकम्पले गर्दा धेरै नेपाली युवतीलाई सहाराविहीन बनाएको छ। कसैको आमा छैनन् त कसैका बाबु। सिन्धुपाल्चोक नाम्लाङकी १६ वर्षीया मनमाया तामाङ (नाम परिवर्तन) लाई साउदी गएका उनका पतिले भूकम्प जानुअघि बेलाबेलामा फोन गरिरहन्थे। भूकम्पले घरमाइती दुवै भत्किएपछि दुवैतर्फ उनले माया पाइनन्। भारतमा काम गर्ने गाउँकै एउटा केटाले मीठो खान र राम्रो लगाउन दिने बताएपछि उसलाई मन पराउन थालिन्। दलाले भारतको लद्दाखतर्फ लैजाँदै गर्दा माइती नेपालले उनलाई उद्धार गरेको छ। भूकम्पले कारागार भत्कँदा त्यहाँबाट भागेका मानव बेचबिखनका अपराधीले युवतीलाई फकाएर बेच्न लैजान सक्ने संस्थाकी अधिवक्ता सजनी जोशीले बताइन्। विभिन्न प्रलोभन देखाएर फकाउन खोज्दा त्यसमा पर्न नहुने बारेमा माइती नेपालले भूकम्प प्रभावित क्षेत्रमा गएर जनचेतनामूलक कार्यक्रम गरिरहेको संस्थाकी अध्यक्ष अनुराधा कोइरालाले बताइन्।

0 Comments