Incident Reports

प्रहरीलाई नै प्रयोग गरेर महिलाको तस्करी, उड्न लागेको विमानबाट ४ महिलाको उद्धार

2015-06-21

Bagmati, Kathmandu, Kathmandu, Ward 9

जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक प्रहरी जवान हतारिँदै आए । एयरवेजका कर्मचारीलाई विमानभित्र रहेका कर्मचारीको सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए । विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे । खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए । प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको थियो । जेट एयरका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका ४ महिलासहित उनीहरूलाई दिल्लीसम्म पुर्‍याउन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको छ । सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ । इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो । विदेश जान लागेका महिलाका आफन्तले आफूहरूलाई दलाले दिल्लीसम्म पुर्‍याएर फर्किन लगाएको प्रहरीलाई बयान दिएका छन् । यसरी विदेशिन लागेका महिलाहरू नुवाकोट, सिन्धुपाल्चोक, तनहुँका छन् । दलालले प्रहरीलाई झुक्याउन दिल्लीसम्मका लागि बुवा, मामा, काका र दाजुलाई साथै पठाएका थिए । ‘आफन्तसँग पठाउँदा प्रहरीले शंका नगर्ने भएकाले नयाँ तरिका अपनाएका हुन्,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नायब महानिरीक्षक हेमन्त मल्लले भने, ‘यस्तो तरिका केही समयदेखि मात्र सुरु भएको हो ।’ ब्युरोले तिनीहरूलाई विदेश पठाउने म्यानपावर कम्पनी र दलालहरूको खोजी गरिरहेको जनाएको छ । यस गिरोहलाई पक्राउ गर्न सक्ने विमानस्थलमा हुने सेटिङ खुल्ने अनुसन्धानमा संलग्न अधिकारीले अनुमान गरेका छन् । दलालसँग मिलेर राहदानी र टिकटलगायत कागजपत्र विमानसम्म पुर्‍याउने प्रहरी जवान घिमिरेलाई पनि नियन्त्रणमा लिइएको छ । उनले दलालले दिएको राहदानीमा अध्यागमनको छापसमेत आपैंmले सुटुक्क लगाइदिएका थिए । ‘अध्यागमनका कर्मचारीले सोधपुछ गरेर जान नदिने भएपछि नागरिकताको भरमा उनीहरूलाई दिल्ली पठाएर राहदानीमा छाप लगाइएको हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘ठुलै गिरोहले खेलिरहेको अनुमान छ ।’ जवान घिमिरेले सामान छुटेको भन्दै कसैले पुर्‍याइदिन अनुरोध गरेकाले लगिदिएकोमात्र दाबी गरेका छन् । उनको शरीर खानतलासी गर्दा प्रहरीले २३ हजार रुपैयाँ फेला पारेको छ । उनको साथमा रहेका हजार दरका नयाँ नोटबारे प्रहरीले सोध्दा दसैंको पेस्कीमा पाएको रकम आफूले राखेको बयान दिएका छन् । भूकम्पपीडित महिला तथा बालबालिकाको तस्करी भइरहेको आशंका आइरहेका बेला प्रहरीकै संलग्नतामा आफन्तलाई प्रयोग गरेर तस्करी गराउनु ठूलो चुनौती भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीको अपराध अनुसन्धान विभागले भूकम्पपछि महिला, बालबालिकाको तस्करी नियन्त्रणका लागि नायब महानिरीक्षक मिङमार लामाको संयोजनमा विशेष समिति बनाएको छ । यसले भूकम्प प्रभावित जिल्लामा गएर जनचेतना फैलाउने र महिला बेचबिखन नियन्त्रण गर्ने रणनीति बनाउने छ । प्रहरी मुख्यालयले भारतसँगको सीमा नाकाहरूमा अलग्गै डेस्क स्थापना गरेको छ । यस्तै महिला बेचबिखनका रणनीति बनाइने र बढी जमघट हुने स्थानमा सुराकी परिचालन गरेको छ ।

0 Comments