Incident Reports

कुलोको बिषयलाई लिएर नेपाली र भारतीय जनताबीच झडपमा सुरक्षकर्मीसहित चार घाइते

2015-07-25

Madhes, Parsa, Thori

नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा सोमबार दिनभर नेपाली र भारतीय बिच झडप भएको छ। नेपाल भारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका हुन्।भारतीयहरुको आक्रमणबाट एक जना प्रहरी जवान सहित चार जना गम्भिर घाइते भएका छन्। घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो , पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक , निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलक बहादुर बस्नेत रहेका छन्। उनीहरु मध्ये प्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठले जानकारी दिए। ठुटे खोला क्षेत्रमा सोमबार बेलुकी सम्म भारतीयहरुले ढुंगामुढा गरेको स्थानीय रामशरण लामिछानेले बताए। सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको बेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालको सीमा क्षेत्रमै पसेर नेपालीहरु माथि आक्रमण गरेको लामिछानेले बताए। एसएसबीले बन्दुक ताकेर बसे , अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने । नेपाली भूमीमा रहेको ठुटे खोलामा तीन वटा कुलो छ । तीन वटा कुलो मध्ये दूइ वटा कुलो भारतको एकवा र भवानीपुरका किसानले तथा बाँकी अर्को कुलो पर्साको निर्मलवस्ती गाविसको नयाँवस्ती,रामनगर र बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन्। लामो समय देखिको खडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवार भारत तर्फ बगेको कुलो थुनेर आफनो गाँउ तर्फ फर्काएका थिए । त्यसकै निहुमा भवानीपुरका भारतीयहरुले आइतवार भारतको जमुनियाबाट किनमेल गरेर घर र्फकदै गरेका निर्मलवस्ती र ठोरीका चार जना नेपालीलाइ कुटपिट गर्दै सामान खोसेपछि विवाद शुरु भएको हो। भारतीयहरुले आइतवार नै ठुटे खोलामा नेपालीहरुले प्रयोग गर्दै आएको कुलो पनि भत्काउन थालेपछि कूलाको रेखदेख गर्दै आएका चौकीदार निर्मलवस्ती रामनगरका जेठा तामाङले प्रतिकार गरेका थिए । त्यपछि भारतीयहरुले उनिमाथि हातपात गर्दै बन्धक बनाएका थिए । भारतीयहरुले चौकीदार तामांगलाइ बन्धक बनाएर भारत तर्फ लैजादै गर्दा निर्मलवस्ती रामनगरका नेपालीहरुले तामांगको उद्धार गरेका थिए ।कुलोको विषयमा भएको विवाद सामाधानका लागि सोमबार इलाका प्रहरी कार्यालय ठोरीमा दुवै देशका स्थानीय अगुवा र सुरक्षाकर्मीहरु बिच छलफल गर्ने सहमति आइतवार भएको थियो । आइतबारको सहमति अनुसार सोमबार इलका प्रहरी कार्यालय ठोरीमा भारतका तर्फबाट एसएसबीका असइ , भारतको सुभद्रा प्रहरी थानाका सइ ,भीखना ठोरीका अगुवा शेषनाथ यादव र धमौराका मुखिया दयानन्द सहनी लगायतको टोली पुगेको थियो । तर निर्मलवस्तीका अगुवाहरुले वार्ता विवादीत सीमा क्षेत्र ठुटे खोलामै हुनु पर्ने भन्दै अडान लिए पछि भारतीय टोली वार्ता नै नगरि फर्किएको थियो । भारतीय टोली फर्किए लगत्तै सीमा क्षेत्रमा भाला , लठठी र गुलेली सहित करिब तीन सयको संख्यामा आएका भारतीयहरुले नेपाली भुमी भित्रै पसेर नेपालीहरु माथि ढुंगामुढा गर्न थालेपछि दुवै पक्ष बिच झडप भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । स्थिती साम्य पार्न सुर्वणपुर तथा चितवनको बाँदर झुला बेस क्याम्पबाट ठोरीमा थप सशस्त्र प्रहरीको टोली पठाइएको उनले बताए ।घटना भएको खबर पाए लगत्तै आफुले भारतको पश्चिमी चम्पारणका डिएमसंग फोनमा कुराकानी गरेर सीमा क्षेत्रमा रहेका भारतीयहरुलाइ फर्काउन आग्रह गरेको प्रजिअ घिमिरेले अन्नपुर्ण पोष्टलाइ बताए । ठूटे खोलाको कुलोको पानी प्रयोगको विषयलाइ लिएर भारतीय र नेपाली बिच पटक पटक विवाद र झडप हुदै आएको छ । यसअघि २०७० सालको बैशाख २३ गते पनि कुलोकै पानीको विषयलाइ लिएर नेपाली र भारतीय बिच झडप भएको थियो। त्यस बेला विवादीत स्थलमै दुवै देशका सुरक्षाकर्मीको उपस्थितीमा भएको वार्तामा नेपाली पक्षले पूर्ववत्रुपमा ठुटे खोलाको बाँधबाट भारतीय किसानलाई दुईवटा कुलो बनाएर पानी लैजान दिने सहमती जनाएपछि विवाद समाधान भएको थियो । ठोरी र निर्मलवस्तीका वासीन्दाहरुको किनमेल गर्ने बजार भारतको भिखनाठोरी हो । नेपालको स्थल मार्ग अप्ठयारो भएकाले ठोरी र निर्मलवस्ती गाविसका नागरिक सदरमुकाम वीरगन्ज आउजाउ गर्न भनि भिखना ठोरीकै रेलमार्ग प्रयोग गर्दै आएका छन्। भारतीयसंगको तनावले दैनिक उपभोग्य वस्तु समेत खरिद गर्न नपाएपछि उनिहरुले बाध्य भएर त्यति बेला सम्झौता गरेका थिए ।त्यति बेला पनि कुलोको विषयलाई लिएर भिखनाठोरी नाकामा भारतीयहरुले नेपालीहरुलाइ आउजाउ गर्न नै रोक लगाउनुका साथै किनमेल गर्न जाने नेपालीहरुलाइ कुटपिट समेत गरेका थिए । भारतीयहरुले नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीलाइ समेत कुटेर घाइते बनाएका थिए । ठोरीको सीमा पारि भारतको भिखना ठोरीमा रहेका एसएसबीले पनि नेपालीहरुलाइ दुख दिदै आएका छन् । ठोरीको भन्सार क्षेत्रमा माइती नेपालको बिटको निर्माण कार्य पनि एसएसबीकै अवरोधका कारण अलपत्र परहेको छ । दशगजा क्षेत्र भन्दा पाच सय मिटर वर नेपाली भूमीमा बनाउन थालिएको बिट निर्माण स्थल भारतीय भूमीमा रहेको भन्दै एसएसबीले अवरोध गरेपछि त्यसै अलपत्र परहेको स्थानीय शिक्षक प्रेम लामाले बताए । सीमावर्ती भिखनाठोरीका भारतीय र एसएसबीले पटक पटक नेपाली भूमी अतिक्रमण गर्दै आएको स्थानीयवासीको भनाइ छ ।चार वर्ष पहिले अघि ठुटे खोलामा निर्माण गर्न लागिएको पूल पनि भारतीय सुरक्षाकर्मीकै बलमिच्याइ कारण निर्माण हुन सकेको छैन । पूल निर्माण स्थल नेपाली भूभागमा रहे पनि भारतीय सुरक्षाकर्मी एसएसबीले भारतीय भूमीमा परेको भन्दै पुल बन्न दिएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments

Related Reports