Incident Reports

बालकमाथिको प्रहरी दमनको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण

2015-07-20

Bagmati, Kathmandu, Kathmandu

राष्ट्रिय मानव अधिकार आयोगले संविधानको मस्यौदामाथि सर्वसाधारणको राय सुझाव लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच धनुषाको जनकपुरमा भएको दोहोरो झडपमा १४ वर्षीय बालक दिनेशकुमार साहमाथि प्रहरीले गरेको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा धनुषा र रौतहट जिल्लाको मानव अधिकारको अवस्था अनुगमन गर्न गएको अनुगमन टोलीले जनकपुरमा भएको घटनाको बारेमा त्यहाँका राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, प्रहरी प्रशासन, आन्दोलनकारी, पत्रकार र सर्वसाधारणसँग छुट्टैछुट्टै स्थानमा गरेको छलफलपछि आयोगले बिनाकारण १४ वर्षीय बालक दिनेशमाथि निर्ममतापूर्वक गरेको वल प्रयोगले मानव अधिकारको ठाडो उल्लङ्घन भएको ठहर गरेको छ। आयोगका सदस्य तथा प्रवक्ता अन्सारीद्वारा आज जारी विज्ञप्तिमा घटनामा घाइते भई न्यूरो अस्पताल विराटनगरमा उपचारार्थ बालक दिनेशको प्रभावकारी उपचारको व्यवस्था मिलाउन एवम् सम्पूर्ण उपचार खर्च समेत सरकारले व्यहोर्न तथा घटनाको सत्यतथ्य छानबिन गरी घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनामा प्रहरीले बालबालिकामाथि औचित्यहीन बल प्रयोग गरेको पाइएको र आक्रमणमा सहभागी नै नभएका अधिकांश व्यक्तिलाई प्रहरीले कुटपीट गर्नु गैरकानुनी भएको साथै शान्तिपूर्ण रुपमा भइरहेको विरोधका कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेर घटना घटाएको बुझिएको उल्लेख छ । धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भएपनि ती जिल्लामा राय सुझाव लिने क्रममा भएको विरोध प्रदर्शनमा अत्यधिक बालबालिकाको प्रयोग भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । रासस

0 Comments