Incident Reports

वीरगन्जमा २६ जना पत्रकार पक्राउ

2015-09-17

मधेस आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा वीरगन्जमा बुधबार साँझ दंगाग्रस्त क्षेत्र तोडेर विरोधमा उत्रिएका पर्साका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुब साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण जुलुशमा सहभागी २६ जना पत्रकारहरुलाई प्रहरीले पक्रेको हो । वीरगन्जको घण्टाघर चोकबाट निस्किएको जुलुश माइस्थान चोकमा पुगे लगत्तै प्रहरीले हस्तक्षेप गरेर जुलुशमा सहभागी २६ जना पत्रकारहरुलाई पक्रेको हो । पत्रकारहरुलार्ई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको थियो । पक्राउ पर्नेहरुमा महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुब साह, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष राम सर्राफ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य अनिल तिवारी, पत्रकार महासंघ पर्साका पूर्व सचिव युवराज खड्का, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल र क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल रहेका छन् । त्यसैगरी नेपाल पत्रकार महासंघका सदस्यद्वय प्रणयकुमार साह र कपिलदेव यादव, राष्ट्रिय फोटो पत्रकार समुह पर्साका उपाध्यक्ष विजय महतो, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पवन तिवारी, पत्रकारहरु रितेश त्रिपाठी, नरेश सर्राफ, विद्यार्थी गिरी, अलिअसगर देवान, राम कुशवाहा, चन्द्रभुषण साह, श्याम कुशवाहा, दीपक कुशवाहा, छठु पटेल, एसके चौरसिया र अमीत अग्रवाललाई प्रहरीले पक्रेको हो । साँझ ५ बजे पक्राउ उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा राखेर साँझ साढे ७ बजे रिहा गरिएको थियो । मधेस आन्दोलनका जायज माग पुरा गर्न र आन्दोलनमा प्रहरीले गरेको दमन बन्द गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन गरिएको महासंघ पर्सा शाखाका उपाध्यक्ष साहले बताए ।

0 Comments