लिम्बुवान संयुक्त संघर्ष समितिको लगातारको बन्दले गरिखान नपाएको भन्दै आक्रोशित यातायात मजदुर एवं व्यापारीहरुले बुधबार धरान बजार खुलाएका छन्। उनीहरुले बन्दको विरोध गर्दै भानुचोकस्थित बसपार्कमा गाडी पनि ल्याएर यातायात खुलेको घोषणासमेत गरेका छन्।
नयाँ संविधान जारी भएको विरोधमा लिम्बुवानले असोज ३ गतेदेखि अनिश्चितकालीन आमहडताल गरिरहेको थियो। त्यसअघि पनि लिम्बुवानले पटक पटक बन्द र हडताल गर्दै आइरहेको थियो । विगठतको बन्द, हडतालमा साथ दिर्दै आएको मजदुर तथा साना व्यापारीहरुले यसपटक भने संविधान घोषणा भइसकेर पनि आह्वान गरिएको अनिश्चितकालीन बन्दले सुरु देखि नै असन्तुष्ट रहदै आएका थिए।
लिम्बुवान बन्दको विरोधमा उत्रिएका धरानका यातायात मजदुर, व्यापारीहरु।
यातायात व्यावसायी र उद्योग वाणिज्य संघले पनि बन्दकर्ताहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै आएको थियो । मजदुरहरुले प्रतिकार गर्ने आवाज उठाउन थाले पनि मंगलबार सुनसरी उद्योग वाणिज्य संघमा बन्दकर्ता, यातायात व्यावसायी, व्यापारी र मजदुरबीच वार्तासमेत भएको थियो । बन्दकर्ताले एक दिनको समय मागे पनि मंगलबार साँझ संघर्ष समितिले अनिश्चितकालीन हडताल जारी रहेको विज्ञप्ति जारी गरेपछि बुधबार बिहानैदेखि मजदुरहरु बन्दको विरोधमा उत्रिएका हुन्।
बन्दको विरोधमा मजदुर र व्यापारीहरुले बिहानदेखि नै भानुचोकमा प्रर्दशन गरेका छन्। उनीहरुले बाटोमा डोरी टागेर राखिएको लिम्बुवान र संघीय समाजवादी फोरमको झण्ठा पनि उखेलेर फालिदिएका छन्। विरोध सुरु भएपछि भानुचोकस्थित लिम्बुवान कब्जा कार्यक्रममा कोही पनि नेता, कार्यकर्ताहरु देखिएनन् । मजदुरहरुले र्याली निकालेर बजार परिक्रमा गर्र्दै व्यापारी, व्यावसायीहरुलाई बजार खोल्न आग्रह पनि गरे। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल उपाध्यक्ष लक्ष्मी बाँनियाले बन्दकर्ताको मागको नभई मजदुरलाई गरिखान नदिने बन्दको विरोध गरिएको बताए।
उनले आन्दोलनकारीलाई सिंहदरबार गएर घेर्न सुझाव दिर्दै मजदुरको पेटमा लात हान्ने गरि बन्द नगर्न चेतावनीसमेत दिए। बन्दको विरोधमा मजदुर, व्यापारी सडकमा आएपछि अप्रिय घटना नहोस् भनेर भानुचौक क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।