संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी मधेस आन्दोलनलाई थप चर्काउने निर्णय गरे लगत्तै सप्तरीमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरुले पकरी प्रहरी चौकीमा आगजनी गरेका छन् ।
त्यहाँका प्रहरीलाई थप बल स्वरुप सदरमुकाम बोलाइएको मौका छोपी प्रदर्शनकारीको एक समूहले आगजनी गरेको हो । आगजनीबाट चौकी भित्रका सबै फर्निचर, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको छ ।
यस्तै प्रदर्शनकारीको एक समूहले सप्तकोशी नगरपालिको ८,९ र १० नम्बको एकिकृत वडा कार्यालयमा समेत तोडफोड गरेको छ । यस्तै आक्रमणको आशंका पछि डिमन प्रहरी चौकीलाई जिल्लामा गाभिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोर्चाको बैठकमा सहभागी हुन सप्तरी आएका मधेसवादी दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेगरि भारदहमा रामकृष्ण राउतको श्रद्धान्जली सभा र बर्साइनमा विरोध सभाको आयोजना हुँदै छ ।
यस्तै मोर्चाको निर्णय अनुसार प्रदर्शन गाउँ, नगरस्थित सरकारी कार्यालय, वित्तीय संस्था विरुद्ध केन्द्रित भएको छ । आज बिहानैबाट ग्रामीण बजार, बर्साइन, हनुमाननगर, भारदह, भगनी, कुनौली भन्सार लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
४१ दिनदेखि निरन्तरको बन्दका कारण सप्तरीमा खाना पकाउने ग्यास, हरियो तरकारी, लगायत ग्रमीण भेकका उपस्वास्थ्य चौकीमा औषधि समेतको अभाव हुँदा जनजीवन थप कष्टकर भएको छ ।
हिजो मंगलबारदेखि २ दिनसम्म चलेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले जारी मधेसलाई थप चर्काउने निर्णय गरेको थियो ।