शुक्रबार राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक तथा फोरम अध्यक्ष सतिश गुप्तासहित ६ जना बन्दकर्ता कुटिएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा शुक्रबार राती १२ बजे गुप्ता सहितको टोलीले बन्दको अवज्ञा गर्दै ग्यास सिलन्डर बोकेको ट्रक स्कटिङ गरेपछि स्थानियबासीले रोकेका थिए । आफै आन्दोलनको अगुवा भएर बन्दको अवज्ञा गरेको भन्दै स्थानियबासीले उनी सहित ६ जनालाई कुटपिट गरेका थिए । नेपालगंजबाट ग्यास लिएर आएको भे १ क १७० नम्बरको ट्रक स्र्कटिङ् गर्न व्यापारीबाट रकम लिएको भन्दै स्थानियले शतिश गुप्ता, अजित सिंह, राजु कोरी, शेखर बर्मा, लालमन पासी र संजय गिरीलाई कुटपिट गरेका थिए । घटना लगत्तै पुगेको नेपाल प्रहरी र शशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । आफुहरु घटनास्थल पुग्दा सर्वसाधारले मोर्चाका नेता सहित केहिलाई घेरा हालेर आक्रमण प्रयास गरेकोमा स्थिति नियन्त्रणमा लिई उनीहरुलाई सुरक्षित स्थानमा लगिएको कृष्णनगरका प्रहरी निरिक्षक नमराज भट्टराईले जानकारी दिए । ‘लगातारको बन्दले पीडित बनेका गाँउले आन्दोलनकारीले आफै स्र्कटिङ गरेर गाडी ल्याएको देखेपछि आक्रोशित बनेका थिए । ‘आफुहरुको जनजिवन अस्तव्यस्त बनेको छ, स्कुल बन्द छ, अस्पतालमा औषधी छैन, आम्दानी ठप्प छ, कसैले हेर्दैनन् आफुहरु चाहि बन्दको नाउमा कमाउ धन्दामा लाग्न मिल्छ ।’ स्थानीय धिरज चौधरीले भने, ‘आन्दोलनको माग जायज होला तर आफै बन्दको अवज्ञा गर्न पाइन्छ ?’
यता मोर्चाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । मोर्चाका नेता तथा तमलोपा उपाध्यक्ष धर्मबहादुरलाल श्रीवास्तवले घटनाबारे कुनै जानकारी नभएको बताए । घटनाबारे मोर्चा संयोजक गुप्ताले सर्वसाधारणको व्यापक दबाबका कारण आफुहरुले ग्यास आपूर्तिका लागि सहयोग मात्र गरेको बताए । ‘समान्य विवाद हो, कुटपिट भएको होइन’ उनले भने । केहि दिन अघि पनि भिल्मीमा आन्दोलनकारी आफैले गाडी चलाएको भन्दै स्थानीयले उनको पिकअप तथा मोटरसाइकलमा आगजनी गरेका थिए । लागतारको ४५ दिनको बन्दका कारण जिल्लाको दक्षिणी क्षेत्रको जनजिवन अस्त व्यस्त बन्दै गएपछि आन्दोलनकारीहरुलाई बन्द खुकुलो बनाउन व्यापक दबाब आएको छ । केहि दिन अघि मात्र सभासद अभिषेक प्रताप शाहले बन्द फिर्ता गरेको स्वघोषणा गरेपनि मोर्चाले पुन दबाब दिदै बन्द गराएको थियो ।