Incident Reports

बन्दमा तस्करी गर्न बालबालिकाको प्रयोग हुन थाल्यो

2015-10-28

Madhes, Dhanusha, Janakpur, Ward 10

लगातारको बन्द, हडतालका कारण धनुषामा रहेका विद्यालय बन्द भएपछि बालबालिकाहरु सीमा क्षेत्रमा हुने व्यापार र कमाई हुने लोभले तस्करीमा संलग्न हुने गरेका छन् । सीमा क्षेत्रमा रहेको विद्यालय बन्द रहेको कारण उनीहरु नजिकैको रहेको भारतीय बजारमा गई साइकलमा आलु, प्याज चिनी तेललगायत उपभोग्य समान ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेको स्थानीयबासीको भनाइ छ । धनुषाको ग्रामीण क्षेत्रसँग जोडिएका सीमावर्ती भारतीय बजार जयनगर, हरिने, उमगाउँ, देउधा, बासोपट्टी, हरलाखी, पिपरौनलगायत बजारबाट दैनिक उपभोग्य सामान तस्करी गरी तिनले आर्थिक लाभ लिने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका प्रहरी चौकी असुरक्षाको कारण हटाइएपछिसशस्त्र प्रहरीले सामान ल्याउन रोकतोक नगर्दा तस्करी गर्न बालबालिका आकर्षित भइरहेको देखिन्छ । भारतबाट सामान ल्याएर बेच्दा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ । धनुषाको दक्षिण सीमा क्षेत्रबाट भारतीय सामान अवैध रुपमा भित्र्याउने तस्करले बालबालिकाको प्रयोग गर्ने गरेकाले अहिले तस्करी मौलाउँदै गएको छ । ती बालबालिकाले भारतबाट समान ल्याएर नेपाली भूभागमा जम्मा गर्ने र रातको समयमा तस्करले ती सामान ट्रयाक्टरमा राखेर जनकपुर बजार भित्र्याउने गरेको भारत महिनाथपुरका एक व्यापारी बताउँछन् । त्यसैगरी युवाले मोटरसाइकलमा पेट्रोलियम पादर्थ, विद्युतीय सामान, ग्यास जस्ता संवेदनशील पदार्थ ओासरपोसार गर्ने गरेको पाइएको छ । अहिले सीमावर्ती खिरखरिया, बहौरवा, अकौरा, परवाहा, धनौजी, तिकौररिया, महुवा, दुहवीलगायत दर्जनौँ गाउँका सयौँ बालबालिका पढाइ छाडी सामान बोक्न जाने गरेका छन् । तस्करीमा १० देखि १५ वर्षसम्मका बालबालिका संलग्न छन् । बन्द, हडतालका कारण विद्यालय बन्द हुँदा बालबालिका तस्करकै सिको गरेर चोरी तस्करीका घटनामा संलग्न भइरहेको औरहीका एक शिक्षकको भनाइ छ । उहाँ भन्नुहुन्छ, “साना विद्यार्थी तस्करीमा मात्र संलग्न हुन्छन्, तर ठूला विद्यार्थी भने तस्करीप्रति आकर्षित हुन थालेका छन् ।” रासस

0 Comments