सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगर भन्सार नाकामा आक्रमण भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले आइतबार मोरङको रंगेलीमा यात्रु बाहक बस तोडफोड गरेका छन् । उनीहरुले बजारसमेत बन्द गराउने प्रयास गरेका छन् ।
विराटनगर जोगवनी भन्सार नाकामा धर्नामा बसेका नेपाल सदभावना पार्टीका अध्यक्ष महतोमाथी प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा बजार बन्द गर्न आह्वान गर्दै हिँडेका मोर्चाका कार्यकर्ताहरुले रंंगेलीको मधुमनी नजिक को १ ख १८८० नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार विहानैदेखि विराटनगरमा प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ता आज विहानैदेखि बजार बन्द गराउँदै हिँडेपनि सुरक्षाकर्मीले त्यसलाई विफल तुल्याएको छ । बजार क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरी बन्द गराउने कार्यलाई असफल बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले वताए ।
मोर्चाका कार्यकर्ताले विराटनगरको महाविर रोड, रोडशेष चोक, मेन रोड, रंगेली रोड, गुद्री लगायतका स्थानमा प्रदर्शन गर्दै बजार बन्द गराउने प्रयास गरिरहेका छन् ।
मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेका कारण त्यसको विरोधमा प्रदर्शन र बजार बन्द गरिएको बताए । यता विराटनगरको रानी भन्सार नाका भने अहिले सामान्य अवस्थामा नै रहेको प्रहरीको भनाइ छ ।