गुन्डा नाइकेसँग मिलेर व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा नेपाल प्रहरीका सई रामहरि रिजाल र असई रमेश तिमल्सिना पक्राउ परेका छन्। सामाखुसीका कहलिएका गुन्डा कुलमान श्रेष्ठसँग मिलेर न्युरोडका सोलार व्यापारीको अपहरण गरेको अभियोगमा अन्य २ सँगै उनीहरु पक्राउ परेका हुन्।
न्युरोडमा रहेको भ्यालुसिटी इम्पेक्सका सञ्चालक राजेश शर्माको अपहरण गरी रकम असुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त जनसेवाले रिजाल, तिमल्सिना र श्रेष्ठसँगै मुकेश शर्मालाई समेत पक्रेको हो।
रिजालको दरबन्दी आयुक्तको कार्यालयमा रहे पनि उनी अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा कार्यरत थिए भने सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका असई तिमल्सिनालाई प्रहरी प्रधान कार्यालयले सांसद सुरक्षाका लागि संसद सचिवालयमा खटाएको थियो।
श्रेष्ठ २ वर्षअगाडि प्रहरीकै इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीका सहयोगी हुन्। प्रहरी रेकर्डमा धादिङ ज्यामरुङ–१ का उनी चरीसँग मिलेर रकम असुलीका घटनामा सक्रिय व्यक्ति हुन्। भारतीय नागरिक मुकेश व्यापारी राजेशका सहयोगी हुन्।
आफूलाई अख्तियार कर्मचारी भन्दै धम्क्याएर अपहरण गरी रकम मागेको भन्दै राजेशले महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार श्रेष्ठ र मुकेशलाई पक्रेको थियो। पीडित व्यापारीबाट सो समूहमा आफूलाई अख्तियार कर्मचारी भएको बताउने व्यक्तिसमेत रहेको सूचनाका आधारमा खोजी गर्दै जाँदा ती व्यक्ति सई रिजाल रहेको र उनको साथमा संसद सचिवालयमा खटिएका असई तिमल्सिनासमेत रहेको खुलेपछि प्रहरीले आइतबार यी दुवैलाई पक्रेको हो।
काठमाडौं परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले अपहरण अभियोगमा प्रहरी पक्राउ परे या नपरेबारे खुलाउन चाहेनन्। उनले नागरिकसँग भने, 'जसले गल्ती गरे पनि कानुनअनुसार कारबाही हुन्छ।'
स्रोतका अनुसार अपहरणको अभियोगमा पक्राउ परेका २ जना प्रहरी कर्मचारी रहेको खुलेपछि काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रम थापाले आयुक्त कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापालाई जानकारी गराएका थिए।
एआइजी थापाले सोबारे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराउँदा 'अनुसन्धान गर्न' आदेश आएपछि अन्य २ जनासँगै अपहरण तथा शरीर बन्धकको अभियोगमा अनुसन्धानका लागि आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिन न्यायिक हिरासतमा राख्ने अनुमति पाएको छ।
रेस्टुरेन्टमा बन्धक
पुस २८ मा सई रिजालसहितको टोली तम्सीपाखामा रहेको राजेशको भ्यालुसिटी इम्पेक्समा गएर नक्कली बिल प्रयोग गरेर कारोबार गरेको भन्दै धम्क्याएका थिए। उनीहरु बिहान पसलमा पुग्दा राजेश थिएनन्। उनकी श्रीमती रेखालाई रिजालले 'म अख्तियारबाट आएको भन्दै धम्क्याएपछि उनले श्रीमानलाई फोन गरेर जानकारी गराएकी थिइन्।
'राजेशले आफ्नो सबै हिसाबकिताब मुकेशले राख्ने गरेको भन्दै उनको नम्बर दिए,' अनुसन्धान स्रोतले भन्यो, 'रिजालले मुकेशलाई फोन गरेर १० लाख नदिए पसल सिल गरिदिने भन्दै धम्क्याएर फर्किए।'
भारत राजस्थानका ४० वर्षीय मुकेश शर्मा व्यापारी राजेशका कर्मचारी हुन्। जैसीदेवलमा बस्दै आएका उनी अडिटिङको काम गर्दै आएका थिए। अनुसन्धान स्रोतका मुकेशले नै श्रेष्ठलाई राजेशले भारतबाट सोलार ल्याएर नक्कली बिल प्रयोग गरी कारोबार गर्ने गरेको सूचना दिँदै धम्क्याए पैसा आउने बताएका थिए।
श्रेष्ठले सो सूचना परिचित अख्तियार र संसदमा कार्यरत दुवै प्रहरीलाई दिएपछि उनीहरु राजेशलाई धम्क्याएर पैसा असुल्न सहमत हुँदै योजना बुनेका थिए। अनुसन्धान अधिकारीका अनुसार योजनाअनुसार उनीहरु राजेशको पसलमा पुगेको अनुसन्धानमा खुलेको एक अधिकारीले जानकारी दिए।
पुस २९ मा मुकेश राजेशको घरमा गएर पैसा नदिए अप्ठ्यारो पर्छ भन्दै उनलाई लिएर बिहान ८ बजे खुसिबुमा रहेको क्याफे द पाक्सिस रेस्टुरेन्टमा पुगेका थिए। रेस्टरेन्टमा रहेका चार जनाले उनलाई भित्री कोठामा बन्धक बनाई पैसा नदिए श्रीमतीलाई समेत अपहरण गर्ने र उनलाई जेल हाल्ने भन्दै धम्क्याएर १० लाख रकम माग गरेका थिए।
रेस्टुरेन्टभित्र लगेर बन्धक बनाएपछि व्यापारी शर्माले आफू पैसा दिन राजी भएको र पहिलो किस्तावापत माघ १ मा २ लाख दिने बताएपछि उनीहरुले अपहरणमुक्त गरेका थिए।
माघ १ मा राजेश पैसा दिन राजी नभएपछि मुकेश उनको घरमा गएर धम्क्याउँदै बेलुका ५ बजे बा४५प १६०९ नम्बरको मोटरसाइकलमा राखेर खुसिबुको रेस्टुरेन्ट पुर्याघएका थिए। अनुसन्धान अधिकारीका अनुसार राजेशलाई मुकेशले जबर्जस्ती मोटरसाइकलमा राखेदेखि नै जनसेवा वृत्तका प्रहरीले उनीहरुलाई पछ्याएको थियो।
रेस्टुरेन्टभित्र लगेर श्रेष्ठले राजेशसँग १ लाख रुपैयाँ लिएपछि प्रहरीले मुकेश र श्रेष्ठलाई रेस्टुरेन्टमै पक्रेको थियो। पीडित शर्माबाट उनीहरुसँगै अन्य २ जनासमेत रहेको जानकारी खुलेपछि अनुसन्धानमा जुटेको प्रहरीले रिजाल र तिमल्सिनालाई पक्रेको थियो।