Incident Reports

प्रहरी गोलीले तीनको मृत्यु

2016-01-22

Province 1, Morang, Rangeli, Ward 6

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सत्तारुढ एमाले कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले बिहीबार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय द्रोपतीदेवी चौधरी (५८), शिवु माझी (२०) र महादेव ऋषिदेव (२८) छन्। घटनामा १५ जनाभन्दा बढी घाइते छन्। एमाले भ्रातृसंगठन युवासंघको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीसँग दोहोरो झडप भएको थियो। कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ता अघि बढेपछि प्रहरीले रोक्ने क्रममा गोली चलाउँदा घटना भएको हो। कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्तालाई बाटैमा रोकेपछि दुई समूहबीच त्यसअघि नै झडप सुरु भइसकेको थियो। रंगेली–४, चोपडाकी चौधरीलाई पूजाको प्रसाद खाएर फर्कंदै गर्दा रंगेलीस्थित कालीमन्दिरनजिकै प्रहरीको गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको पति कृष्णले जानकारी दिए। लगत्तै नजिकैको पूर्वी बजार डायनियामा प्रहरीको गोलीले शिवु माझी (२०) को मृत्यु भएको हो। उता, रंगेली झडपमा दायाँ कोखमा गोली लागेका टकुवाका ऋषिदेवको उपचारक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो। मोर्चाको एउटा समूहले रंगेली आउँदै गरेका युवा संघ कार्यकर्तालाई डायनियामै रोकेको थियो। रंगेलीको झडपमा चौधरीको मृत्यु भएलगत्तै आक्रोशित कार्यकर्ताले युवा संघ कार्यकर्ताको रोकिराखेको गाडी आगजनी गर्न थालेपछि प्रहरीसँग फेरि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली माझीलाई लागेको थियो। रंगेलीको काली मन्दिरनजिकको झडपमा गोली लागेका ऋषिदेवको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले कोसी अस्पतालबाट रेफर गरी ल्याइएका ऋषिदेवको उपचारक्रममा मृत्यु भएको बताए। घाइते एक दर्जन आन्दोलनकारीको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। अन्यको विराटनगरस्थित कोसी अस्पताल र रंगेलीस्थित जिल्ला अस्पतालमा उपचार जारी छ। गोल्डेन अस्पतालका अनुसार घाइते धेरैको खुकुरीले शरीरका विभिन्न भाग काटिएको छ। मोरङका सहायक सिडिओ देवीवहादुर भण्डारीले रंगेली घटनामा तीन जनाको गोली लागेर मृत्यु भएको पृष्टि गरे। उनले रंगेलीको स्थिति सुरक्षा काबुमा रहेको बताए। रंगेलीस्थित इलाका प्रहरी कार्यालयअगाडिको खेतमा मञ्च बनाएर युवा संघले बिहीबार २ बजे कार्यक्रम सुरु गरेको थियो। करिब ४ सय मिटर पर काली मन्दिरनजिक भेला भएका मोर्चा कार्यकर्ता कार्यक्रमस्थलतर्फ आउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। मन्दिरबाट युवा संघको कार्यक्रमस्थल पुग्ने दुइटा बाटा छन्। मुख्य बाटोमा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता अर्को बाटो हुँदै मञ्चतर्फ जान खोज्दा अस्पतालनजिकै प्रहरीसँग झडप भएको थियो। मोर्चा कार्यकर्ताको भिडबाट हानिएको तीर एक सशस्त्र प्रहरीको तिघ्रामा लागेपछि त्यहाँको स्थिति तनाबपूर्ण बनेको थियो। प्रहरीले भिड तितरबितर गर्न सुरुमा दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गर्योि। स्थिति नियन्त्रणमा नआएपछि गोली चलायो। चौधरीको घटनास्थलमै मृत्यु भयो भने दर्जनबढी घाइते भए। रंगेलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो तैनाथी थियो। प्रहरी र मोर्चा कार्यकर्ताबीच अस्पतालनजिक झडप भइरहँदा युवा संघको कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायण मण्डल सम्बोधन गर्दै थिए। मधेसी बाहुल्य क्षेत्र रहेको रंगेलीमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याएर ...मधेस जागरण अभियान' गर्ने युवा संघको कार्यक्रमले मधेसी मोर्चा रुष्ट बनेको थियो। मोर्चा कार्यक्रम बिथोल्न बुधबार र बिहीबार दुईदिने बन्द घोषणा गर्दै प्रदर्शनमा उत्रिएको थियो। बुधबार जिल्ला प्रशासन कार्यालय, मोरङमा भएको सर्वदलीय बैठकले पनि युवा संघलाई रंगेलीमा कार्यक्रम नगर्न सुझाव दिएको थियो। युवा संघले बन्दबीच कार्यक्रम रोकेन। बुधबार पनि प्रहरी र मोर्चाबीच रंगेलीमा झडप भएको थियो। रंगेलीको नेपाल बैंक लिमिटेड चौरमा युवा संघले कार्यक्रम गर्ने तयारी गरेको थियो। मोर्चाले बैंकको चौरभन्दा ५० मिटर मात्रै दुरीमा रहेको काली मन्दिरमा त्यसै समय विरोध कार्यक्रम राखेपछि युवा संघलेे बुधबार राति इलाका प्रहरी कार्यालयनजिक मञ्च सारेको थियो। प्रधानमन्त्री आउने प्रचार गरिए पनि युवा संघको कार्यक्रमलाई एमाले महासचिव ईश्वर पोखरेल, नेता शंकर पोखरेल, महेश बस्नेत, राजीव पहाडी र निरु पाललगायतले सम्बोधन गरेका थिए। 'शान्तिपूर्ण कार्यक्रम बिथोल्ने काम फासिस्टहरुले मात्रै गर्छन्,' सभामा महासचिव पोखरेलले भने, 'मधेसी जनताका पक्षमा यो आन्दोलन होइन, जमिनदारको आन्दोलन हो।' मधेसी मोर्चाका रंगेलीका नेता शंकर साहले युवा संघलाई कार्यक्रम नगर्न बारम्बार आग्रह गर्दा पनि नटेरेकाले दुःखद घटना भएको बताए। 'सरकार र एमालेको हठले रंगेलीमा नरसंहार भएको छ,' साहले भने, 'प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ।' कार्यक्रम सकिएपछि एमाले नेतालाई कडा सुरक्षाबीच विराटनगर ल्याइएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Small arms , Fire
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Killed 3
Female Killed 1
Youth Killed 1
Total Injured 12
National/Online Media

0 Comments