Incident Reports

साउदी अरबमा सातजना नेपाली महिलाको उद्धार

2016-03-20

Bagmati, Kathmandu, Kathmandu

 अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ। लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो। दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावासको आश्रयमा आएका थिए। महिनौँदेखिको काम गरेको पारिश्रमिक नदिइएको, शारीरिक तथा मानसिक यातना दिइने गरेका कारण जीवन रक्षाका लागि उनीहरु साउदी नागरिकको घरबाट भागेका थिए। उनीहरुको उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई शुक्रबार स्वदेश पठाइएको कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए। कुबेत हुँदै साउदी आएकी डाँडाबारी–३ झापाकी रीतादेवी मगर, खर्वाङ–७ बागलुङकी झवी राना, गुलरिया–७ बर्दियाकी मीना विक, बाबियाबिर्ता–७ मोरङकी मायादेवी राजधामी, ओखरकोट–९ प्यूठानकी जमुना रोका, त्रिवेणी–२ नवलपरासीकी पार्वती थापा र बेथान–५ रामेछापकी जानकी लामालाई उद्धार गरी स्वदेश पठाइएको कावा राजदूत शर्माले बताए। उनीहरुलाई केही वर्ष कुबेती नागरिकको घरमा कामदारका रुपमा राखिएको र त्यसपश्चात् कुबेतबाट भ्रमण भिसामा साउदी ल्याई कामदारका रुपमा राखिएको थियो। साउदी अरब र कुबेतका नागरिकबीच पारिवारिक एवम् वैवाहिक सम्बन्ध हुने गरेकाले पनि कुबेतमा कार्यरत नेपाली चेलीलाई साउदी नागरिकले सहजै रुपमा साउदी ल्याउने गरेको पाइएको शर्माको भनाइ छ । कुबेतबाट आएर गैरकानुनी रुपमा बसेकाहरुलाई १५ हजार साउदी रियाल जरिवाना भुक्तान नगरी नेपाल पठाउन नमिल्ने जनाएपछि कावा राजदूत शर्माले यहाँको अध्यागमन विभागका प्रमुखलाई भेटेर स्वदेश फिर्तीका लागि आग्रह गर्नुभएको थियो। शर्माको आग्रहलाई स्वीकार गरी अध्यागमन विभागका प्रमुखले जरिवाना मिनाहा गरी स्वदेश फर्काउन सहमत भएपछि ती नेपाली चेली स्वदेश फर्कन सफल भएका हुन्। सरकारले घरेलु महिला कामदारलाई कानुनी रुपमा साउदी अरब आउन प्रतिबन्ध लगाएको भए पनि दलालमार्फत गैरकानुनी बाटो हुँदै साउदी अरब आउने क्रम बढ्दै गएको छ। त्यसैगरी घरेलु महिला कामदार आपूर्ति गर्न कुबेतमा कार्यालय स्थापना गरेर बसेका नेपाली एजेन्टहरुले समेत मोटो रकम लिएर कुबेतमार्फत साउदी अरबमा भिजिट भिसामा घरेलु महिला कामदार पठाउने गरेको बुझिएको शर्माको भनाइ छ । कुबेतबाट तीन महिनाको भिजिट भिसामा साउदी ल्याइए पनि त्यसपश्चात् भिसा नवीकरण नगरी वर्षौंसम्म काम लगाउने गरेका कारण पनि साउदी आएका अधिकांश घरेलु कामदार गैरकानुनी ठहर्ने गरेका छन्। जसका कारण कानुनी उपचारबाट वञ्चित भई स्वदेश फर्कनसमेत कठिनाइ हुने गरेको छ। रासस b

0 Comments