Incident Reports

जोखिमपूर्ण काममा लगाइएका बालश्रमिकको उद्धार

2016-03-20

Lumbini, Dang, Tulsipur

जोखिमपूर्ण काममा लगाइएका १० जना बालश्रमिकलाई घोराही नगरपालिकाले चैत ७ गते उद्धार गरेको छ । घोराहीका विभिन्न १० ओटा होटल तथा रेष्टुरेण्टमा भाँडा माझ्ने काममा लगाइएका ती बालबालिकालाई उद्धार गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत सुबोध रेग्मीले बताए । प्रहरी, प्रशासन, महिला बालबालिका कार्यालय, मानवअधिकारकर्मी, पत्रकार, होटल व्यवसायी समितिका पदाधिकारीसहितको टोलीले होटल तथा रेष्टुरेण्टमा छापा मारेर एक बालिकासहित १० जनाको उद्धार गरिएको र थप पाँच बालबालिका घर गएको भन्दै नगरपालिकामा ल्याइदिने सर्तमा होटल मालिकहरूलाई कागज गराई छोडिएको वडा प्रहरी कार्यालय घोराहीका इन्स्पेक्टर प्रकाश सापकोटाले बताए । उद्धार गरिएका सबै बालबालिकालाई तत्कालका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको र दुईदिनको परामर्शपछि सम्बन्धित परिवारमा पुनःस्थापित गरिने बालबालिकाको क्षेत्रमा काम गरिरहेको हिमालयन शान्ति तथा विकास अभियानका अध्यक्ष एवम् बालअधिकारकर्मी विकिरण गौतमले जानकारी दिए । यसैबीच घोराही नगरपालिकाले उद्धार गरिएका बालबालिकालाई पठनपाठन र अभिभावकहरूलाई आयआर्जनकालागि सहयोग गर्ने भएको छ । घोराहीमा अझै ५३ जना बालश्रमिक होटललगायत विभिन्न उद्योगमा राखिएको भन्दै नगरपालिकाले क्रमश उनीहरूको उद्धार र परिवारमा पुनःस्थापना गर्दै जाने बताएको छ । चैत ७ गते उद्धार गरिएकाहरूमा दाङ लक्ष्मीपुरका १४ वर्षीय कृष्ण नेपाली, रामपुरका १६ वर्षीय तेजबहादुर पुन, घोराहीका १२ वर्षीय गोपाल डाँगी, सौडियारका १४ वर्षीय झग्गु खत्री, रामपुरका १५ वर्षीय दिलबहादुर पुन, लक्ष्मीपुरका १४ वर्षीय पदम पुन, त्रिपुरका १४ वर्षीय सागर नेपाली, प्यूठान खालकी ११ वर्षीया राधा केसी, प्यूठान मर्कावाङका १३ वर्षीय टोपबहादुर पुन र प्यूठान कोर्चावाङका १३ वर्षीय अमृत खत्री रहेका छन् । 

0 Comments