Incident Reports

बेलायत ल्याएर ‘दास’ बनाइँदै नेपाली बालबालिका

2016-04-04

Bagmati, Kathmandu, Kathmandu

गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका नेपाली बालबालिकालाई सस्तोमा किनेर बेलायती धनाढ्य परिवारले यहाँ दास बनाइरहेको समाचार प्रकाशमा आएको छ । मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला वालवालिकालाई जनही ५ हजार २५० पाउण्डमा बेचेर उनीहरुलाई यहाँ दास बन्न वाध्य बनाएका हुन् । तस्करहरुले घर पालुवा वस्तुको भन्दा कम भाउमा वालवालिका बेच्ने गरेका छन् । तस्कर गिरोहले बेचिएका वालवालिकालाई भारतमै केही समय तालिमपछि घुस दिएर बनाइएको फर्जी कागजातमार्फत बेलायत पठाउने गरिरहेको समाचारमा उल्लेख छ । दैनिक १७ लाख ४२ हजार बढि प्रति छापिने र लाखौं पाठक भएको अखवार दि सनका अन्डरकभर रिपोर्टरले गोप्य रुपमा गरेको खोजअनुसार, भारतीय मानव तस्कर मख्खन सिंहले बालवालिकालाई लाइनमा राखेर रोजी रोजी किन्न अफर गरिरहेका थिए । पत्रिकाले नेपाली सिमा नजिक अमृतसरस्थित गोल्डेन टेम्पलबाट ५० माइल टाढा रहेको जलान्धारबाट खोजी सुरु गरेको थियो । सन्का खोजकर्ता बेलायतमा बसोवास गर्ने धनाढ्य सिख परिवारको भएको, उसकी श्रीमति विरामी र आमा वृद्ध भएकाले उनीहरुले नोकर खोजीरहेको बहानामा प्रस्तुत भएका थिए । उनलाई मन्दिर नजिक एकान्त ठाउंमा बोलाइएको थियो जहां तस्कर सिंह मोटरबाइकमा आइपुगेका थिए । सुटुक्क श्रव्य दृश्य खिचिएको चाल नपाएका ति तस्करले गर्वका साथ धेरै वालवालिका बेलायत पठाएको बताएका थिए । उनले आफूले नोकर बस्ने वालक उपलव्ध गराइदिन सक्ने तर उसलाई बेलायत लैजान चाहिने कागजात आफैं व्यवस्था गर्नुपर्ने भनेका थिए । पत्रिकाका संवाददाताले वालवालिका बेचविखन त अप्ठेरो काम होइन भन्दा सिंहले नेपाल भूकम्पले ध्वस्त भएकाले अधिकांश नेपाली यतै भएको र भारतमा पनि त्यस्ता केटाकेटी पर्याप्त भएको बताएका थिए । ‘हामी गरिव परिवारकहाँ जान्छौं र कुराकानी गरेर डिल गर्छौं’, सिंहले भनेका थिए । उनले १२ वा १३ वर्षका वालवालिका लैजान पनि सुझाएको सन्ले लेखेको छ । उनले नेपाल वा बिहार जहांको लगे पनि हुने तर यो वापत ५ लाख भारतीय रुपैयां वा ५ हजार २५० पाउण्ड तिर्नुपर्ने भनेका थिए । सिंहले वृद्ध आमा र बिरामी श्रीमतीको रेखदेख गर्न र खाना पकाउन नेपाली लैजान सुझाव दिंदै अधिकांश इंग्ल्याण्ड लगिएका वालवालिका नेपाली भएको समेत बताएका थिए । मानव तस्करले भारतीय राज्य बिहारका गरिव परिवारका वालवालिका पनि बेच्ने गरेको समाचारमा उल्लेख छ । ‘हामीले २० वटा अरु सप्लाइ गर्नुछ, म सामान्यतया ५ वा १० मिनेटमा डिल गरिसक्छु’, उनले पैसा केही बार्गेन गर्न खोज्दा आनाकानी गर्दै भनेका थिए, ‘हामीले पनि केटाकेटीका अभिभावकलाई दिनुपर्छ । लाने नलाने तपाईंको विचार हो किनकि तपाईं मात्र हाम्रो एक्लो ग्राहक होइन ।’ बेलायती गृहमन्त्री टेरेजा मेले अखवारको उक्त सनसनीपूर्ण समाचारबारे छानवीन गर्न नेशनल क्राइम एजेन्सीलाई आग्रह गरेकी छिन् । ‘वालवालिका बेचवखन एउटा घृणित अपराध हो, कुनै पनि वालवालिकालाई दास बनाइनु हुन्न’, गृहमन्त्री मेले सन् पत्रिकासंग भनेकी छिन् । उनले वालवालिकाको जीवनरक्षाका लागि गत वर्ष आजीवन जेल सजायं तोक्दै दास प्रथा विरुद्ध कडा ऐन ल्याइएको पनि जनाएकी छिन् । गत वर्ष मानव तस्करी गरि करिब एक हजार वालवालिका बेलायत ल्याइएको अनुमान छ । ती बालबालिका कि त घरेलु काममा दास बनाइएका छन् कि यौन शोषणको शिकार । यहाँ भारत, नेपालबाहेक अल्बानिया, भियतनाम र नाइजेरियाबाट बढि वालवालिका तस्करी हुने गरेको छ । बालबालिका बेचविखनबाट वार्षिक २० बिलियन पाउण्ड मुनाफा हुने पनि समाचारमा छ ।

0 Comments