Incident Reports

ट्युसन शुल्कको निहुँमा मानसिक यातना

2016-04-07

Gandaki, Tanahun, Rhishing

” एक निजी विद्यालयका प्रिन्सिपलले एसएलसीको ट्युसन शुल्क नबुझाई परीक्षामा सहभागी भएको भन्दै बिहीबार एक विद्यार्थीलाई बन्धक बनाएका छन् । क्यामिन १ कलेस्तीस्थित दोभान बोर्डिङ स्कुलका प्रिन्सिपल सिकन्दर गुरुङले १५ वर्षीय प्रविण कुँवरलाई करिबव २० मिनेट बन्धक बनाएका हुन् । ट्युसन कक्षा नै नलिएको आफूलाई गुरुङले ट्युसन शुल्क बापतको ८ हजार ५ सय रुपैयाँ नबुझाए जाँचमा बस्न नदिने भन्दै रोकेको परीक्षार्थी कुँवरले बताए । बिहान ८ बजेर २० मिनेटसम्म विद्यालयबाट बाहिर जान नपाइने भन्दै भित्र राखेपछि मानसिक तनाव भएको उनको भनाइ छ । ‘अरू साथी परीक्षा दिन गए । तर मलाई भने प्रिन्सिपल सरले पैसा नबुझाई जान पाइँदैन भन्दै भित्रै रोक्नुभयो,’ उनले भने, ‘एकदम नरमाइलो लाग्यो र रोएँ । पैसा लिएर आउँदै छु भनेर ममीले मोबाइलमा भनेपछि बल्ल छोडिदिनुभयो । तनावले गर्दा परीक्षा केन्द्रमा पुगेर पनि लेख्नै सकिनँ ।’ यसअघि पनि प्रिन्सिपल गुरुङले आफूलाई पटकपटक शुल्क नबुझाएको भन्दै तनाव दिँदा अरू दिनको परीक्षासमेत राम्रो नभएको उनले बताए । छोराले ट्युसन शुल्क नबुझाएको भन्दै परीक्षा दिनबाट रोकिनु विद्यालयको चरम लापारवाही भएको कुँवरकी आमा विमलाले बताइन् । ट्युसन नै नपढेको छोराको शुल्क मागेर पहिले पनि मानसिक यातना दिने गरिएको दुखेसो उनको छ । बचन दिएअनुसार आफूले तत्कालै स्कुलमा पुगेर ६ हजार ५ सय रुपैयाँ बुझाएको उनले बताइन् । तर बोर्डिङ स्कुलका प्रिन्सिपल गुरुङले विमलाले कुनै पनि शुल्क नबुझाएको बताए । कुँवरले स्कुलमा होहल्ला गरेकाले आफूले अनुशासनको पाठ सिकाउँदा केही समय परीक्षा दिन ढिला भएको प्रिन्सिपल गुरुङको दाबी छ । ‘परीक्षा केन्द्रभित्र १ घण्टासम्म ढिला गरी जान सकिने प्रावधानसमेत भएकाले २० मिनेट ढिला हुनु सामान्य हो,’ उनले भने । परीक्षार्थी कुँवर आँसु पुछ्दै ढिला गरी परीक्षा दिन आएको क्यामिन उच्च मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णहरि गैह्रेले बताए । ‘धेरै समयसम्म केही लेख्न नसकेकाले ५ मिनेट समय थप दिए,’ उनले भने । उक्त केन्द्रमा खटिएका स्रोत व्यक्ति दामोदर खनालले विद्यार्थीलाई मानसिक यातना दिनु निन्दनीय विषय भएकाले यसबारे जिशिअलाई समेत जानकारी गराइसकेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments