Incident Reports

गठबन्धनको धर्नामा सहभागी विदेशी पक्राउ

2016-05-16

Bagmati, Kathmandu, Kathmandu

संविधानका केही धारामा असन्तुष्टि जनाउँदै संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रमबाट प्रहरीले सोमबार एक बेलायती नागरिकलाई पक्राउ गरेको छ। टाउकामा 'मगरात' लेखिएको फेटा र हातमा गठबन्धनका कार्यकर्ताले झैं झन्डा बोकेर घेराउमा संलग्न बेलायती नागरिक मार्टिन बेन्जामिन ट्रेभर्स पक्राउ परेका हुन्। नियन्त्रणमा लिइएका ट्रेभर्स तीनमहिने पर्यटक भिसामा गत मार्च ९ मा नेपाल आएको पाइएको छ। राहदानी नम्बर ५१२७९३५३२ रहेका बेलायतीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। 'कानुनविपरीत आन्दोलनमा नै सहभागी भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो,' उनले भने, 'उनले आफू पाटनमा बस्ने गरेको मात्र बताएका छन्, थप अनुसन्धान हुँदै छ।' काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी पनि बेलायती नागरिक ट्रेभर्सले अध्यागमन ऐनविपरीत काम गरेको बताउँछन्। सिंहदरबार घेराउक्रममा आइतबार सार्वजनिक भएका विदेशी नागरिकको फोटोका आधारमा खोजी गरिएको उनले जानकारी दिए। 'ती बेलायती अरू कार्यकर्ताझैं आन्दोलनमै सहभागी भएको भेटिएको छ,' उनले भने, 'विदेशमा आउँदा के गर्न हुने, के नहुने भन्ने पनि जानकारी नराखी कानुनविपरीत काम गरेका कारण उनलाई पक्राउ गरिएको हो।' सुवेदीले ती विदेशी कुन प्रयोजनले नेपाल आएका हुन् भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। 'उनीसँगै आइतबारको आन्दोलनमा सहभागी अन्य विदेशीका विषयमा पनि अध्यागमन र प्रहरीको सहयोगमा खोजी जारी छ,' उनले भने। गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले पनि भ्रमण भिसामा आएका व्यक्ति आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुनविपरीत रहेको बताए। 'यस विषयमा गहन अनुसन्धान गर्नेछौँ। दोषी देखिए अध्यागमन कानुनअनुसार कारबाही हुनेछ,' उनले भने, 'एक किसिमको प्रवेशाज्ञा लिएर आउने अनि अर्कै प्रयोजनको काम गर्नु गम्भीर विषय हो।' उनका अनुसार यस्ता व्यक्तिको प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुने व्यवस्था छ। प्रवक्ता कोइरालाले ती व्यक्तिसहित अन्य संघसंस्थाका विषयमा पनि अनुसन्धान अघि बढाइएको जानकारी दिए। 'एक किसिमको प्रयोजनका लागि आएका व्यक्ति मात्र होइन, संस्थाका विषयमा पनि अनुसन्धान अगाडि बढाएका छौँ,' उनले भने, 'धेरै स्थानबाट उजुरी आइरहेकाले व्यक्तिसँगै संस्थाले पनि प्रयोजनअनुसार काम गरे–नगरेको हेर्न सुरु गरिएको हो।' गठबन्धनको आइतबारको कार्यक्रममा तीन विदेशी नागरिकले टाउकोमा फेटा बाँधेर सहभागिता जनाएका तस्बिर सार्वजनिक भएका थिए। गत साता अध्यागमन कानुनविपरीत नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेका क्यानाडेली नागरिक रोबर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो। निर्देशनलगत्तै उनी गइसकेका छन्। यसैबीच, संघीय गठबन्धनको सिंहदरबार घेराउ क्रममा माइतीघर मण्डलामा झडप हुँदा दुई प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो। प्रदर्शनक्रममा घुसपैठ भएको भनी अर्घाखाँची, पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेललाई प्रदर्शनकारीले हातपात गर्दा आँखामा सामान्य चोट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएको थियो। यस्तै, त्रिचन्› कलेजमा बिएस्सी प्रथम वर्ष अध्ययनरत प्रकाश अधिकारी पनि सामान्य घाइते छन्। प्रदर्शनक्रममा ढुंगा प्रहार गर्ने नुवाकोट, तारुका–८ का ३० वर्षीय अनिल ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। घेराउमा सहभागी कार्यकर्ताले ल्याएका ३५ थान लाठीसमेत प्रहरीले थापाथली चोकबाट बरामद गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments