Incident Reports

कतारमा एक सय ८५ नेपाली बिचल्ली

2016-06-05

Bagmati, Kathmandu, Kathmandu

समयमै उद्धार हुन नसक्दा कतारको इल्युसिड इलोक्ट्रोमेकानिकलमा कार्यरत एक सय ८५ नेपालीको अवस्था जटिल बन्दै गइरहेको छ । त्यस कम्पनीका सञ्चालक कामदारको सम्पर्कमा छैनन् । पीडितका तर्फबाट सोलुखुम्बुका पासाङ शेर्पाले तत्काल उद्धार गरी स्वदेश पठाउन अपि्रलको दोस्रो साता नेपाली दूतावासमा निवेदन दर्ता गराए पनि अहिलेसम्म सम्भव हुन सकेको छैन । गत जनवरीयता तलब नपाएका उनीहरूलाई कम्पनीले अपि्रल १० बाट कामसमेत दिएको छैन । 'जति दिन लम्बिँदै गयो । त्यति नै हाम्रो अवस्था जटिल बन्दै छ,' कम्पनीको क्याम्प इञ्चार्ज रहेका शेर्पा भन्छन्, 'अहिलेसम्म त हामी खानाको समस्या भोग्दै छौं । क्याम्पको मालिकले भाडा नपाएको धेरै महिना भइसकेको छ । उसले छिट्टै नपाए क्याम्पको बत्ती र पानी काटिदिने बताएको छ ।' लमजुङका कुमार दमाईले भने, 'हामीलाई कसले स्वदेश पठाइदिन्छ भनेर निकै चिन्तामा छौं, आफूसँग भएको पैसा खाएर सिध्दियो । अहिले चिनजानका साथीहरूबाट खानाको जोहो भइरहेको छ ।' एक सय ८५ मध्ये सबै स्वदेश फिर्न चाहेका छैनन् । दुई वर्षदेखि कार्यरत दाङका ओभिराम विक भन्छन्, 'पाउनुपर्ने तलब पाइदिए हुन्थ्यो । मुद्दा लडदै अर्को कम्पनीमा काम गर्ने वातावरण बनिदिए यही बस्थें ।' यहाँ बसेर मुद्दा मामिला गर्न गाह्रो देख्नेहरू घर फिर्न चाहन्छन् । टिकट जुटाएका पनि घर फिर्न पाएका छैनन् । 'हामी झन्डै ३ दर्जन साथीले घर जान साथीभाइबाट टिकट जुटाएका छौं, घर फिर्न डिपोर्टटेसन सेन्टरमा गएर निवेदन दिइसकेको पनि हो,' बर्दियाका गोपाल खत्री भन्छन्, 'प्रहरीले फोन गरेपछि आउनु भनेर पठाइदिएको छ । हामी फोन कुरेर बसिरहेका छौं ।' टिकट जुटाउन नसक्ने पनि थप चिन्तितमा छन् । 'धेरैले टिकट जुटाउन सकेका छैनन् । दूतावासले कतार सरकारलाई भनेर टिकटको व्यवस्था गरिदिनुपर्छ,' दाङका भीमकान्त गौतमले भने, 'हामी आफैं टिकट कसरी खोज्ने ।' पीडितहरूले दूतावास गम्भीर नभएकाले समस्या लम्बिरहेको बताउँछन् । 'म हरेक दिनजसो फलोअपका लागि दूतावास पुगेको हुन्छु । मेरो साथीहरू पनि गइरहेका छन्,' शेर्पा भन्छन्, 'सधैं उही अवस्था देख्छु । ठोस प्रगति देख्दिनँ ।' कतारका लागि कार्यवाहक राजदूत मणीरत्न शर्माले पीडितलाई उद्धारका लागि दूतावासले काम गरिरहेको बताए । 'कूटनीतिक निकायले काम गरिरहेको छ । यससम्बन्धी छिट्टै नतिजा निस्कन्छ,' उनले कान्तिपुरलाई भने, 'जहाँ गएर भन्नुपर्ने हो । त्यहाँ गएर हामीले पहल गरेका छौं ।' कतारको श्रम मन्त्रालयले नेपाली दूतावासले आधिकारिक रूपमा समस्या समाधान गर्न आग्रह गरेको २४ घण्टामा समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । 'दूतावासले कामदारको समस्या समाधान गर्न आग्रह गरेको २४ घण्टामा समस्या समाधान गरिदिन्छौं,' कतारका श्रममन्त्रीले भनेका थिए । पीडित कामदारले कतारको मानवअधिकार समितिमा स्वदेश पठाइदिन र खानाका लागि व्यवस्था गर्न गत बिहीबार निवेदन दिएका छन् । 'समितिले कतारी निकायसँग समन्वय गरी छिट्टै समाधान गर्ने आश्वासन दिएको छ,' शेर्पाले भने, 'यो तत्काल समाधान भइदिए हामीलाई ठूलो राहत मिल्ने थियो ।' उक्त कम्पनीमा ड्राइभर, लेबर, कार्पेन्टर, स्टिल फिक्चरलगायत काम गर्ने नेपाली कामदार छन् । कामदारहरूले तीन हजारदेखि १५ हजार रियालसम्म तलब पाउन बाँकी छ ।
National/Online Media

0 Comments

Related Trend Analysis