Incident Reports

बालिकालाई बेचविखन गर्न खोजेको आरोपमा मुद्दा दर्ता

2016-06-08

Kokila Dhakal विवाह गर्ने बहानामा १६ वर्षीया एक बालिकालाई झुक्याएर बेचविखनको उद्देश्यले भारत लान खोजेको आरोपमा सप्तरी राजविराजका २३ वर्षीय मञ्जेसकुमार दासविरुद्ध जिल्ला प्रहरी कार्यालय इलामले जेठ २५ गते अदालतमा मानव ओसार पसार तथा बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेको छ । आरोपित दासले जेठ १६ गते ती बालिकालाई रेडबुलसँग लठ्याउने पदार्थ खुवाएर बेहोस बनाइ भारततर्फ लिएर गएको पीडितका परिवारका सदस्यले जनाएका छन् । पीडित बालिकाका अभिभावकले दासविरुद्ध मानव बेचविखनको उद्देश्यलेबालिकालाई भारततर्फ लगेको भन्दै जेठ २५ गते नै प्रहरीमा उजुरी दिएका थिए । दासले इलाममा दुई वर्षयता गाउँ-गाउँमा गएर साबुन-सेम्पो जस्ता घरेलु उपयोगका सामग्री बेचविखन गर्दै आएका थिए । जेठ १६ गते उपचार गर्न सदरमुकाम आउने क्रममा ती बालिकालाई आधा बाटोदेखि आफ्नो मोटरसाइकलमै ल्याएका दासले विवाह गरौं भनेर लगेपछि घर नलगेको र भारत लाने कुरा बताएपछि बालिकाले घरमा फोन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी शुसिलकुमार यादवले जानकारी दिए । दासले झापामा ती बालिकालाई सात दिन राखेर भारत लाने बताएपछि अविभावकको उजुरीका आधारमा जेठ २४ गते साँझ बालिकासहित दासलाई झापा प्रहरीले गिरफ्तार गरेको थियो । झापाबाट गिरफ्तार गरिएका दासलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इलाममा गरिएको र अहिले बालिकालाई अभिभावकको जिम्मा लगाइएको एसपी यादवले बताए । कोकिला ढकाल

0 Comments