Incident Reports

बम हत्या प्रकरण: सुटरलाई सर्वस्व, योजनाकारलाई जन्मकैद

2016-06-28

Bagmati, Kathmandu, Kathmandu

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्यामा संलग्न पाँच अभियुक्तले जन्मकैदको सजाय पाएका छन् । जिल्ला अदालत ललितपुरले सोमबार बम हत्याका २ सुटरलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले सुटर शिव चौधरी र सञ्जय इस्माली मगरलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । अदालतका स्रेस्तेदार बाबुराम दाहालका अनुसार घटनाका मुख्य योजनाकार बाबु भन्ने मेघबहादुर थापा, सहयोगी दीपककुमार कर्णले जन्मकैदको सजाय पाएका हुन् । घटनाका सहयोगी प्रेमराज खडकालाई ५ वर्ष कैद सजाय सुनाइएको छ । २०६९ जेठ १८ मा बगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जाने क्रममा ललितपुरको यूएन पार्कमा गोली हानेर न्यायाधीश बमको हत्या गरिएको थियो । मोटरसाइकलमा आएका ५ जनाले बम चढेको गाडी रोकेर गोली हान्दा बमसहित उनका बडिगार्ड प्रहरी सहायक निरीक्षक महेश गिरी र साथी राम गिरी गम्भीर घाइते भएका थिए । उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएका बमको त्यहीं निधन भएको थियो । अन्य २ जना भने उपचारपछि घर फर्किएका थिए । महेश र रामको हत्या प्रयासको अभियोगमा प्रेमराजबाहेक ४ जनामाथि ज्यान मार्ने उद्योगको मुद्दा समेत चलेको थियो । सो मुद्दामा चारै जनालाई थप १२ वर्ष कैदको सजाय सुनाइएको दाहालले जानकारी दिए । जेठ १८ मा टयाङ्लाफाँटमा रहेको घरबाट निस्किएर कलंकी हुँदै बगलामुखी पुगी अदालत फर्किरहेका बेला बिहान ११ बजे उनलाई गोली हानिएको थियो । घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्त कार्यालयका तत्कालीन प्रमुख कुवेरसिंह रानासहित उच्च प्रहरी अधिकृतहरू सम्मिलित समिति गठन गरे पनि हत्यामा संलग्नको पहिचान गर्न २ वर्ष लागेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्याको २ वर्षपछि २०७१ पुस १९ मा बाबुसहित ६ जनालाई घटनाका अभियुक्तको रूपमा सार्वजनिक गर्दै हत्याको कारण ‘चुरे भावर पार्टीको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले गरेको निर्णय उल्टाएको आक्रोश’ भएको खुलाएको थियो । आफू उपाध्यक्ष रहेको चुरे भावरमा विवाद बढेपछि २०६४ मा बाबु आफ्नो आधिकारिता दाबी गर्दै अध्यक्ष केशव मैनालीविरुद्ध निर्वाचन आयोग गएका थिए । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार सो विवादमा आयोगले बाबुको समूहलाई आधिकारिकता दिएपछि मैनाली सर्वोच्च गए । मैनालीको रिटमा न्यायाधीश बमको एकल इजलासले आयोगको निर्णय उल्टाउँदै अर्को आदेश नभएसम्म मैनालीलाई आधिकारिकता दिएपछि बाबु रिसाएका थिए । ‘गृह राज्यमन्त्री हुने पक्का थियो तर बमको आदेशका कारण त्यो रोकियो,’ थापाले बयानमा भनेका थिए, ‘राजनीतिक रूपमा समेत तीन वर्ष निष्क्रिय बस्नुपरेकाले उनको हत्या गरेको हुँ ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा सहितको अनुसन्धान समूहले घटनामा संलग्न रहेको आशंकामा ६८ जनालाई पक्राउ गरी केरकार गर्दा पहिलो चरणमै बाबु पक्राउ परेका थिए । उनले घटनामा संलग्न नरहेको दाबी गरे र प्रहरीले पनि संलग्नताको प्रमाण जुटाउन नसक्दा उनी छुटे । ब्युरोले दोस्रोपटक बम हत्यामा संलग्नताको आशंकामा उनलाई पुन: पक्राउ गरे पनि प्रमाण जुटाउन सकेन । तेस्रो पटक बल्ल प्रमाण जुटेपछि उनी सहयोगीसहित पक्राउ परेका थिए । प्रहरीले बाबु र कर्णसहितलाई पक्राउ गरे पनि सुटर मगर भने वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए । ब्युरोले उनीविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराएर पक्राउ गरी नेपाल ल्याएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports