Incident Reports

बालविवाह गरेको कसुरमा पाँचहजार जरिबाना

2016-07-14

Bagmati, Ramechhap, Khadadevi, Ward 3

उमेर नपुगी छोरीको विवाह गरिदिएको कसुरमा भिरपानी गाविस-६ की कृष्णमाया श्रेष्ठलाई जिल्ला अदालत रामेछापले पाँच हजार रुपियाँ जरिबाना गर्ने फैसला सुनाएको छ । उक्त जरिबाना पीडित बालिकालाई भराउन फैसलामा भनिएको छ । न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजालसले असार ३० गते श्रेष्ठलाई जरिबाना र विवाह गर्ने बेहुला कैलाश श्रेष्ठलाई सफाइको फैसला सुनाएको हो । श्रेष्ठले २०७२ साल मङ्सिर २८ गते १६ वर्षीया छोरीलाई पिङ्खरी गाविस-८ का २० वर्षीय कैलाश श्रेष्ठसँग विवाह गराइदिएकी थिइन् । दिदीसँग विवाहको तय भएपछि जन्तीसहित बेहुलीको घरमा पुगेका कैलाशसँग उनले विवाह गर्न अस्वीकार गरेपछि कृष्णमायाले ती बालिकाको विवाह गराइदिएकी थिइन् । सो विवाहको विरुद्ध सिविन बाल हेल्पलाइनले ०७२ साल फागुन २० गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । निवेदकले विवाह बदरको माग नगरेकाले विवाह बदरको फैसला नभएको बताइएको छ । जिल्ला अदालत रामेछापले बालविवाहको मुद्दामा गरेको यो पहिलो फैसला भएको अदालतले जनाएको छ ।

0 Comments